देशलाई संघीयताको खाँचो नै थिएन, द्वन्द्व व्यवस्थापनका लागि मानिदिएको मात्रै हो ! – पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं । पूर्व मन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकुल बाँस्कोटाले देशलाई संघीयता आवश्यक नै नभएको टीप्पणी गरेका छन् । उनले द्वन्द्व व्यवस्थापनका लागि मात्रै संघीयता ‘मानिदिनु परेको’ पनि जिकिर गरेका छन् ।
माइक्रो ब्लकिङ साइट ट्वीटरमा एक सन्देश लेख्दै पूर्वमन्त्री बाँस्कोटाले भनेका छन्, ‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम । यसमा चाहिँ के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएको छ छैन ।
द्वन्द्व व्यवस्थापनको लागि मानिदिनु परेको न हो, देशलाई खाँचो त थिएन संघीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तरवार घुमाउने भएछन् । कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिएका बाँस्कोटाले सरकारले गरेको पछिल्लो निर्णयको बचाउ गर्दै देशलाई संघीयता आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।
केही समय अगाडि मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा नेपाल मात्रै लेख्ने निर्णय गरेको थियो । जसअनुसार मन्त्रालयहरुले अब देशको नाउको ठाउँमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखी ‘नेपाल’ मात्रै लेख्न मातहत निकायमा निर्देशन जारी गरेका छन् ।
सरकारको उक्त निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ । सत्तारुढ दल नेकपाकै नेताहरुले समेत सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को ठाउँमा ‘नेपाल’ मात्रै लेख्ने निर्णय संविधान विपरित भएको टिप्पणी गर्दै आएका छन् ।