कोरोनाले वित्तीय क्षेत्रमा पारेको असरको अध्ययन गर्न राष्ट्र बैंकद्धारा समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड-१९) ले वित्तीय क्षेत्र र अर्थतन्त्रमा पारेको र पार्न सक्ने असरको अध्ययन गर्न समिति गठन गरेको छ ।
राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार कार्यभार सम्हाल्दै कोभिड १९ को प्रभावको विषयमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय अनुसार समिति गठन भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
अनुसन्धान विभागका प्रमुख समेत रहेका भट्टको नेतृत्वमा गठित समितिमा नियमन बिभाग, बिदेशी विनिमय व्यवस्थापन बिभाग, भुक्तानी प्रणाली बिभाग, तथा बैंक सुपरिवेक्षण बिभागका निर्देशक र नेपाल बैंकर्स संघका अध्यक्ष सदस्य रहेका छन् । त्यस्तै अनुसन्धान बिभागका निर्देशक रामशरण खरेल सदस्य सचिव रहेका छन् । अन्य आवश्यकता अनुसार सदस्य थप गर्न सकिने उनले बताए ।
“समितिले कोरोना भाइरसको वित्तिय क्षेत्र र अर्थतन्त्रमा परेको प्रभावको विषयमा अध्ययन गर्नेछ,” उनले भने, “हामीले नियमित रुपमा अध्यन गरिरहेका छौं । तर अब त्यसलाई फर्मल रुप दिएर थप अध्ययन गर्न समिति गठन भएको हो ।”
वित्तीय क्षेत्रमा कोरोनाको प्रभाव कम गर्न भोली कस्तो नीतिगत व्यवस्था गर्ने भन्ने विषयमा पनि अध्ययन गर्न उनले बताए ।
समितिलाई बैशाख मसान्तसम्ममा अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ । आगामी बजेट र मौद्रिक नीति र त्यसको सहजिकरणको लागि पनि अध्ययनले सुझाव दिने उनले बताए । तत्कालै कुनै काम गर्नुपर्ने अवस्था आएमा पनि अध्ययनले सहज गर्ने उनको भनाई छ ।