नेकपाको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलका सदस्यसँग परामर्श गर्दै ओली

काठमाडौं । आन्तरिक विवाद समाधानका लागि बैठक डाक्न भनेर सत्तारुढ नेकपाका अर्का अध्यक्षसहित बहुमत सचिवालय सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको दुई दिनको समयसीमा आज (सोमबार) सकिँदैछ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार ओलीलाई भेटेर बैठक डाक्नका लागि लिखित रुपमै माग गरेका थिए ।
ओलीले आवश्यक सल्लाह गरेर बैठक डाक्ने बताएका थिए । तर, यसबीचमा बैठक डाक्ने विषयमा ओलीले कुनै तयारी भने अगाडि बढाएका छैनन् ।
नेकपा स्रोतका अनुसार बहुमत सचिवालय सदस्यहरुको मागका सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री ओलीले आज छलफल गर्दैछन् ।
प्रधानमन्त्री ओलीले आज (सोमबार) गत साउनको अन्तिम हप्ता गठित विवाद समाधान कार्यदलका सदस्यहरुसँग छलफल गर्दैछन् ।
गत असारदेखि शुरु भएको स्थायी कमिटी बैठककै बीचमा बढेको आन्तरिक विवाद समाधानका लागि सुझाव दिन साउन ३० गते गठित विवाद समाधान कार्यदलका सदस्यलाई ओलीले सोमबार छलफलका लागि बालुवाटार बोलाएका छन् ।
महासचिव विष्णु पौडेल नेतृत्वको उक्त समितिमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र शंकर पोखरेल सदस्य थिए ।
सोही कार्यदलले दिएको सुझाव भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले अनुमोदन गरेपछि नेकपाका आन्तरिक विवाद समाधान भएको बुझिएको थियो ।
तर, गत शनिबार दुई अध्यक्ष ओली र प्रचण्डबीच भएको भेटमा ओलीले ‘सहमति’मै पार्टी फुटाउने प्रस्ताव अगाडि सारेको विषय सार्वजनिक भएपछि नेकपाको आन्तरिक विवाद उत्कर्शमा पुगेको विषय बाहिर आएको थियो ।
त्यसपछि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीको ‘परामर्श’मै शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा बहुमत सचिवालय सदस्यहरु ‘अनौपचारिक’ बैठक बोलाएका थिए ।
सोही बैठकको निर्णयानुसार बहुमत सचिवालय सदस्यहरुले तत्काल सचिवालय बैठक बोलाउन ओलीलाई लिखित माग पेश गरेका थिए ।