स्थानीयले मारे युवतीको ज्यान लिने चितुवा

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका ४ बगारकी १८ बर्षीया माया महतालाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयहरुले सोमबार घेेेरा हालेर मारेका छन् ।
छिमेकी डडेल्धुराको भागेश्वर गाउँपालिका-१ मर्मागाडमा घासँ काट्न गएका बेला चितुवाले सोमबार दिउँसो आक्रमण गरेर मायाको मृत्यु भएको थियो ।
चितुवाले मायाको लासलाई नछोडेपछि गाउँबाट गएका स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिनुभयो ।
चितुवा मार्ने क्रममा तीन चार जना समान्य घाइते भएका जानकारी आएको समेत उहाँले बताउनुभयो ।
मायाको शवलाई चितुवाले नछोडेपछि घाँस काट्न गएका महिलाहरुले स्थानीयहरुलाई बोलाएका थिए ।
घटनास्थलमा प्रहरी पुग्नुभन्दा अघि नै स्थानीयले चितुवालाई मारेका हुन् । सोही ठाउँमा आइतबार मात्रै डडेल्धुराको भागेश्वरका १२ बर्षीय बालकको समेत चितुवाले ज्यान लिएको थियो ।
२०६८ साल यता तल्लोसोराडमा चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गईसकेको छ ।