सचिवालय बैठकअघि ओलीसँगको छलफलका लागि बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्दै सचिवालय बैठक बोलाएपछि पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि बालुवाटार पुगेका छन् ।
अध्यक्ष ओलीसँगको भेटका लागि प्रचण्ड केही बेरअघि बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।
ओलीसँगको संवादका लागि मंगलबार बिहान शंकर पोखरेलले प्रचण्डलाई आग्रह गरेका थिए। पार्टीको समस्या दुई अध्यक्षको संवादबाटै टुंगिने पोखरेलको भनाइ थियो।
बैठक राख्ने सहमति लिनको लागि प्रचण्डसहित बहुमत सचिवालय सदस्यले अध्यक्ष ओलीलाई दिएको दुईदिने म्याद सोमबार बेलुका सकिएको छ।
प्रधानमन्त्री ओलीको सन्देश लिएर सोमबार महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए। तर ओली पक्षबाट कुनै ठोस प्रस्ताव नआएपछि प्रचण्ड बैठक राख्ने तयारीमा पुगेको स्रोतको दाबी छ ।
केही समययता सत्तारुढ दलको विवाद पार्टी विभाजनको तहसम्म पुगेको जनाइएको छ ।
अध्यक्ष ओलीले यसबीचमा नेता माधव कुमार नेपालसँगसमेत छलफल गरेका छन् । पार्टीमा देखिएको विवाद समाधान गर्न नसकिने स्थानमा पुगेको उनको भनाइ थियो ।