ढुक्क हुनुहोस्, आपूर्तिमा व्यवधान छैन : मन्त्री भट्ट

काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले अत्यावश्यकबाहेकको अवस्थामा घरबाहिर ननिस्कन भन्दै देशव्यापी ‘लकडाउन’ घोषणा गरेको छ । लकडाउनको आज १८औँ दिनसम्म आइपुग्दा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै असहज अवस्था नआएको सरकारले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज नेपाल टेलिभिजनमार्फत सरकारले आवातजावतमा रोक लगाए पनि छिमेकी मुलक भारततर्फबाट खाद्यान्नको आयातमा कुनै समस्या नरहेको बताए । “आयात निरन्तर छ, तथ्याङ्कमा हेर्ने हो भने आपूर्ति सहज छ,” उनले भने, “सीमाबाट व्यवस्थित ढंगबाट आइरहेको छ ।” मुलुकभर खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलको सिंगो टिम आपूर्ति व्यवस्थामा अवरोध आउन नदिन दिनरात लागिपरेको उनको भनाइ छ ।
लकडाउनको १७ दिनसम्म आइपुग्दा ३७ हजार ३३४ खाद्यान्न, १४ हजार ५४ टन गेडागुडी तथा दलहन, २१ हजार ६२६ टन तरकारी, पाँच हजार ९६२ टन फलफूल, ८० टन दुग्धजन्य पदार्थ र रु १० करोड ८७ लाख सात हजार बरारबरको विभिन्न प्रकारका कच्चा पदार्थ र रु ५६ करोढ ९७ लाख २७ हजार बराबरको तयारी औषधि पनि आयात भएको मन्त्री भट्टले जानकारी दिए ।
उनले खाद्यान्न तथा अत्यावश्यक वस्तु बोकेर आएका ट्रक तथा कन्टेनरलाई ‘डिसइन्फेक्सन’ गरेर नेपाल प्रवेशको व्यवस्था मिलाइएको बताए । -रासस