वामदेवलाई राष्ट्रियसभा सदस्य र मन्त्री बन्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले नेकपा नेता वामदेव गौतमको मुद्दामा अन्तरिम आदेश जारी नगर्ने फैसला गरेको छ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
यो सँगै अब वामदेवलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न वा उनलाई मन्त्री बनाउन समेत बाटो खुला भएको छ।
सरकारले नेता गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठकको भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपति विद्या देवी भण्डारीले असोज १ गते गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।
उक्त निर्णय असंवैधानिक भएको भन्दै मनोनय बदर गर्न माग गर्दै मुद्धा परेको थियो।
गौतम बर्दिया–१ मा कांग्रेसका सञ्जय गौतमसँग पराजित थिए। प्रतिनिधिसभामा पराजित व्यक्तिलाई त्यहि अवधिमा राष्ट्रिय सभामा मनोनित गर्नु संविधान विपरित भएको जिकिर गर्दै निवेदन परेको थियो।
निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेकपालाई पनि विपक्षी बनाइएको थियो।