प्रधानमन्त्री ओलीले भर्चुअल बैठकमार्फत् दिए पाँच सन्देश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्बिने सम्भावना व्यक्त गरेका छन् । सरकारले तय गरेको लकडाउनको समयावधि वैशाख ३ गते सकिँदैछ ।

प्रधानमन्त्री ओलीले भर्चुअल बैठकमार्फत् सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग कुरा गर्दै कोरोना सङ्क्रमण रोकथाम गर्न भौतिक–सामाजिक दूरी नै हतियार भएको प्रष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले शनिबार बिहान साढे ११ बजेदेखि दिउँसो साढे तीनबजेसम्म मुख्यमन्त्रीसँग भिडिओ कन्फ्रेन्स गरेका थिए ।

“प्रधानमन्त्रीले सामाजिक दूरी कायम गर्नुको अर्काे विकल्प नै नरहेको स्पष्ट गर्नुभयो,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

प्रधानमन्त्रीले संघीय सरकारले प्रभावकारी ढङ्गले काम गरिरहेको सन्देश दिएका थिए ।

“सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्त्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई अनुरोध गर्नुभयो,” थापाको भनाइ थियो ।

कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म नेपालले स्वास्थ्यउपचार क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका थिए ।

भिडियो कन्फ्रेन्समा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयाशहरूको स्थिति जानकारी गराएका थिए ।

अहिलेसम्मका प्रयास सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएको सल्लाहकार थापाले बताए ।

लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको प्रधानमन्त्री ओलीको सन्देश रहेको थापाको भनाइ छ ।

“भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराउनुभयो,” थापाले भने ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय राजनीतिक संयन्त्रमार्फत् कोरोना रोकथाम, नियन्त्रणका लागि राष्ट्रिय एकताको खाँचो औंल्याएका बेला प्रधानमन्त्रीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।

“सरकार स्वयम्ले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पार्नुभयो,” थापाले बताए ।

कोरोनाको लडाइँमा खटिनेहरू स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारीरिक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।

“लकडाउनमा प्रशासनिक लापरबाही हुनै भएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनुपर्छ । त्यसका लागि केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिन्छ,” प्रधानमन्त्रीको सन्देश रहेको थापाको भनाइ छ ।

प्रधानमन्त्रीले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरेका छन् । साथसाथै, सरसफाइमा ध्यान दिन, मास्क र चस्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि मुख्यमन्त्रीहरूलाई आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button