आगलागी पीडितलाई आर्थिक सहयोग प्रदान

डिलकुमारी नेपाल, चितवन । माडीको बरुवामा दिउँसोपख भएको आगलागीमा परी एक महिला कृषकको परालको टौवा जलेर नष्ट भएको छ ।
कार्तिक ३० गते आइतबार बरुवामा सानानानीहरु खेल्ने क्रममा दिउँसो करीब २ बजे टौवामा आगलागी हुँदा माडी-१, चितही खोला किनारमा बसोबास गर्ने महिला कृषक पवनी महतोको २ बिगाहा क्षेत्रफलको परालको टौवा जलेर नष्ट भएको थियो ।
पछि माडी नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा आगोलाई अन्यत्र फैलिन नपाई आगो नियन्त्रणमा आएको थियो ।
यसैबिच, माडीकै बरुवा बजारमा अटो व्यवसाय गरिरहेका युवा व्यवसायी सञ्जय महतोले आगलागी पीडित महिला कृषकलाई राहत प्रदान गर्नुभएको छ, उहाँले आफ्नो जन्मदिन मनाउने खर्च कटौती गरी महतोले महिला कृषकको परिवारलाई राहत स्वरुप रु ५ हजार सहयोग गर्नुभयो ।
यसअघि उहाँले लकडाउन र निषेधाज्ञाको अवधीभर सयौं विरामी र घाइतेहरुलाई भरतपुर र बसन्तपुरको स्वास्थ्य संस्थामा लैजान ल्याउन निजी गाडीमार्फत निःशुल्क सवारी सेवा समेत प्रदान गर्नुभएको थियो । यस्तै सहयोगी भावना सबैको हुनुपर्ने पीडित महतोले बताईन् ।