कोरोनाका कारण बन्द रहेका विद्यालय छठपछि खुल्ने!

गत चैतमा लकडाउन भएपछि देशभरका विद्यालयहरु बन्द भएका थिए। जुन अहिलेसम्म पनि सञ्चालनमा आउँन सकेका छैनन।
मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई शिक्षा मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्याङ्कन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो ।
शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकार भौतिक रुपमै विद्यालय सञ्चालन गर्न दिन तयार भएको हो।
मन्त्रालयका अनुसार विद्यालयले स्वास्थ्य मापदण्ड पुरा गरे/नगरेको हेर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। अब स्थानीय तहले परिस्थितिको विश्लेषण गरेर विद्यालय खोल्ने/नखोल्ने विषयमा आवश्यक निर्णय लिन सक्नेछन।
मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचामा सम्पूर्ण सुरक्षा मापदण्ड पुरा गरेर विद्यालय पुनःसञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्नुपर्ने भनिएको छ।
कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ।
कार्यढाँचामा विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ।
गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । यही मङ्सिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा हुँदैछ।
सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय (होम सेन्टर) का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ।