निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

काठमाडौं । भाइरल निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरी भिडियो टिकटकमा अपलोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले बिहीबार भक्तपुर नगरपालिका ५ टौमढीबाट उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
निकिशामाथि भक्तपुर नगरपालिका १ दूधपाटीमा बुधबार दुर्व्यवहार गरी सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो ।
त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानबिन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ ।
सार्वजनिक भएको भिडिओमा मोटरसाइकलमा सवार व्यक्तिले निकिशालाई अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको र आफूलाई दुर्व्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ ।
प्रहरीले बिहीबार टौमढीका १७ वर्षीय विशेष जोशी, दूधपाटीका १७ वर्षीय रितश लाखे र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई तौमढीमा रहेको आफन्तको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।