बागलुङ प्रहरीको सक्रियतासँगै जुवाडेहरु पक्राउ परेपछि हिरासतमा बढ्यो कोरोनाको जोखिम

बागलुङ । पछिल्लो समय बागलुङ प्रहरीको सक्रियतासँगै धमाधम फरार प्रतिवादी र जुवाडे पक्राउ परेका छन् । हालसम्म १३९ फरार प्रतिवादी र २८ जुवाडे पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसरी धमाधम पक्राउ गरेको प्रतिवादी र जुवाडेका कारण हिरासत र कारागारमा भने कोरोनाको जोखिम बढेको छ ।

कोरोना सङ्क्रमणको जोखिमका बीच प्रहरीले धमाधम पक्राउ गरेपछि हिरासत र कारागारमा कोरोना जोखिम बढेको हो । यद्यपि प्रहरीले सक्दो सचेतता अपनाइएको जनाएको छ ।

कोरोनाको जोखिममा केही चुनौती देखिए पनि हालसम्म सक्दो सुरक्षा सचेतता अपनाएर पक्राउ गरिएकालाई हिरासतमा राखिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । ‘हिरासतलाई चार भागमा विभाजन गरेका छौँ,’ श्रेष्ठले भने, ‘हामीले पिसीआर गरेर मात्रै हिरासत र कारागारमा पठाउँदै आएका छौँ, यसमा धवलागिरि अस्पतालले समन्वय गरिराखेको छ, पिसीआर गरेको, नमूना सङ्कलन गरेको र नयाँलाई छुट्टाछुट्टै कोठामा राख्दै आएका छौँ ।’

कारागारमा समेत पछिल्लो समयमा ७० फरार प्रतिवादी थपिँदासमेत कोरोना सङ्क्रमण नफैलिएको कारागार प्रमुख मोहन उपाध्यायले जानकारी दिए । ‘हालसम्म ७० जना जति नयाँ कैद भुक्तानका लागि थपिए, उच्च सतर्कता अपनाउनाले हालसम्म कोरोनाको लक्षणसमेत देखिएको छैन,’ कारागार प्रमुख उपाध्यायले भने, ‘कारागारको क्षमता विस्तार गरेका छौँ, पिसीआर गरेर प्रहरीले पठाउँदासमेत नयाँ कैदीबन्दीलाई अहिले बनेको नयाँ भवनमा राख्दा सहज भएको छ ।’

उपाध्यायका अनुसार फरार प्रतिवादीमध्ये ३० जना एक वर्षसम्मको कैद भएकालाई कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला अदालतले सजायलाई रकममा बदलेर भुक्तानीपश्चात छाडिसकेको छ ।

कारागारमा हाल १४२ कैदीबन्दी छन् । शुरुमा ४५ जना क्षमताको कारागार हालै विस्तार भएर ९० जना क्षमताको बनाइएको छ ।

पिसीआर गरेर मात्रै हिरासत र कारागार पठाएपछि हिरासत तथा कारागारमा थुनुवाहरु थपिँदासमेत कोरोना सङ्क्रमणको जोखिम नभएको प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button