बैतडीमा उपभोक्ता हकहित संघको स्थापना

बलदेब सिंह नायक, बैतडी । बैतडीमा उपभोक्ता हकहित संघ स्थापना भएको छ ।
बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, महंगी रोक्ने र बजारमा अनुशासन कायम गर्ने उद्देश्यका साथ विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर संघको स्थापना भएको हो ।
उपभोक्ता हकहित संघको कार्यसमिति अध्यक्षमा महेश दत्त भट्ट, उपाध्यक्षमा निशा भट्ट, महासचिवमा रमेश राम कोली, सचिवमा निर्मला टेर र कोषाध्यक्षमा बलदेब सिंह नायक त्यस्तै सदस्यमा मोहित कुमार भण्डारी, लक्ष्मी पन्त भट्ट, मंगला भुल र हरिशङ्कर जोशी,
रहनुभएको छ ।
संघले आम उपभोक्तासंग सरोकार राख्ने सार्वजनिक महत्वका विषयहरुमा अनुसन्धान एवम् अध्ययन गरी उपभोक्ताको हकहित उल्लङ्घन भएको पाईएमा सम्बन्धीत सरोकारवाला पक्षलाई उपभोक्ता संरक्षण सम्बन्धि कानूनहरुको पालना गर्न र गराउन सहयोग गर्नुका साथै उपभोक्ता अधिकारका बिषयमा उपभोक्ताहरुलाई जागरुक गराउन पनि काम गर्ने अध्यक्ष महेश दत्त भट्टले जानकारी दिनुभयो ।
उपभोक्ता अधिकार संरक्षण सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरुसंग समन्वय कायम राखी विभिन्न जागरणमूलक कार्यक्रमहरु सञ्चालन गर्ने गराउने उद्देश्य समेत संघले राखेको छ ।
उपभोक्ता हकहित संघको विधान २०७७ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगायत वहुपक्षीय व्यापार प्रणाली प्रस्तावनाबाट सिर्जित अवसरलाई मुलुकको आयात-निर्यात वृद्धि र आर्थिक विकासमा अधिकतम उपयोग गर्ने उद्देश्य राखिएको छ ।
बैतडीमा पहिलो पटक उपभोक्ताको हितमा काम गर्नका लागि संघ दर्ता भएको बताउँदै महासचिव रमेश राम कोलीले उपभोक्ता अधिकारका बिषयमा स्वयं उपभोक्ताहरु समेत जागरुक हुनुपर्ने बताउनुभयो ।
यसका साथै, स्वच्छ र प्रतिस्पर्धात्मक आन्तरिक तथा बाह्य व्यापारलाई प्रवद्र्धन गर्दै व्यापार सहजीकरणमार्फत दीगो व्यापारलाई सुनिश्चित गर्न, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिलाई सुनिश्चित गर्दै उपभोक्ताको हकहित संरक्षण गर्न र मुलुकमा आर्थिक क्रियाकलापलाई प्रवर्द्धन गर्न जोड दिने बताईएको छ ।