नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेकी छन् ।

राजदूत यान्छी प्रचण्डलाई भेट्न सोमबार बिहान खुमलटार पुगेकी हुन् । प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार राजदूत यान्छीले चीनबाट हुन लागेको उच्चस्तरीय भ्रमणको विषयमा प्रचण्डलाई जानकारी गराएकी छन् ।

मंसिर १४ गते चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ । सोही विषयमा जानकारी गराउनका लागि राजदूत यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी प्रचण्डको सचिवालयका एक सदस्यको भनाइ छ ।

राजदूत यान्छीले सत्तारुढ नेकपाभित्र जारी विवादका विषयमा पनि प्रचण्डसँगको भेटमा चासो राखेकी बुझिएको छ ।

चीनबाट हुन लागेको ‘उच्चस्तरीय भ्रमण’ र सत्तारुढ दलमा जारी आन्तरिक विवादको विषयमा राजदूत यान्छीले प्रचण्डसँग छलफल गरेकी हुन् ।

राजदूत यान्छीले गत मंगलबार राति प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी थिइन् । सत्तारुढ नेकपा भित्र विवाद चर्किँदा यसअघि पनि राजदूत यान्छीले भेटघाटलाई तीब्र पार्दै आएकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button