‘सकेसम्म चाँडो संसद अघिवेशन शुरु गर्न छलफल हुँदैछ’: सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताएका छन् ।
सोमबार संघीय संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले कोरोना भाइरसको महामारीका बेला विभिन्न विकल्पसहित संसद चलाउन तयारी अवस्थामा रहेको बताए ।
सभामुख सापकोटाले भने, ‘सकेसम्म चाँडो संसद अघिवेशन राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरुसहित एक, दुई, तीन गरेर तयारी गरिएको छ ।’
सभामुख सापकोटाले हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशमाथि पनि छलफल हुने बताए ।
सञ्चाकर्मीको प्रश्नको जवाफ दिने क्रममा सभामुख सापकोटाले संसदको हिउँदे अधिवेशन बोलाउनका लागि सरकारसँग समेत छलफल भइरहेको बताए । ‘हामी तयारी अवस्थामा छौं, सरकारसँग पनि कुरा चलिरहेको छ,’ सभामुख सापकोटाले भने ।
चालू आर्थिक वर्षको बजेट पारित गरेपछि संसदको वर्षे (बजेट अधिवेशन) अन्त्य भएको थियो ।
सरकार (मन्त्रिपरिषद)को सिफारिसमा राष्ट्रपतिले संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।