प्रधानमन्त्री ओलीका कारण निहुरिएको नेपाली कुटनीति

प्रधानमन्त्री के. पी. ओली र भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबिच भएको भनिएको वान टु वान वार्ताले नेपाली राजनीति गर्माएको छ ।

नेपालीहरूको महान् चाड बडादशैँको मुखैमा विशेष विमानबाट नेपाल आई भएको यस भेटले अनेकन प्रश्न जन्माएका छन् जुन अझै अनुत्तरित छ । देशको कार्यकारी प्रमुखको ओहोदामा बसेको व्यक्तिले यस्ताखालका कुटनीतिक मर्यादा विपरितका हर्कतले सिँगो मुलुकवासीकै शिर निहुरिएको छ ।

दुई तिहाइ नजिक बहुमतसहित देश हाँकिरहेका ओलीको यस्तो असुहाउँदो व्यवहारले दिउँसो उग्र राष्ट्रवादको नारा अलाप्ने र राती भारतीय खुफियाहरूसँग लम्पसार परेर समस्त नेपाली जनलाई धोकामा राख्ने ओलीको वास्तविक रूप उदाङ्गो भएको छ ।

व्यक्तिगत लोभ, मोह र स्वार्थका खातिर प्रधानमन्त्री पदको गरिमालाई भुलेर एक्लै गरेको मोलमोलाइले उनको होचो अन्तराष्ट्रिय कदसँग भारतले कर्मचारीतन्त्र तहबाट डिल गर्न खोजेको देखिन्छ ।  छिमेकीमुलुकका साथै अन्य राष्ट्रहरूसँग ओलीको क्षणिक आत्मरति र वचपनाले गर्दा पूर्खाले जोगाएको हाम्रो अन्तराष्ट्रिय छविमा घात पुगेको छ ।

पदीय मर्यादा अनुरूप सम्बन्ध र भेटघाटको छुट्टै अभ्यास हुन्छ, अन्तराष्ट्रिय प्रोटोकल हुन्छ, विदेशीसँग भेटघाट परराष्ट्र मन्त्रालयले संयोजन गर्छ ।

हैसियत र औकातको अहङ्कारले स्थानीय प्रतिनिधिले पिर्कामा चढेर सलामी लिई विकृत अभ्यास चलिरहेको नेपालमा देशको प्रधानमन्त्रीले विदेशि कर्मचारीसँग मध्यरातमा एक्लै परराष्ट्र अनि पार्टीका प्रतिनिधि विनै के गोप्य कुरा गर्न खोजेका हुन र के उदहारण प्रस्तुत गरेका हुन् ओलीका भजन मण्डलीमा रहेका अन्धभक्तले बेतुकका प्रतिवाद त गर्लान् नै ।

यति धेरै वहुमत सहितको संघीय सरकार, ७ मध्य ६ प्रदेशमा ओलीनेतृत्वमा रहेको नेकपाको सरकार, भद्र र रचनात्मक प्रतिपक्ष, यति ठूलो अवसर लाई ओलीले विकास, समृद्धि र उँचो अन्तराष्ट्रिय पहिचान कायम गर्नुपर्नेमा सत्ताको उन्मादमा जथाभावी गर्न थालेका छन् जसको चर्को मूल्य देशले चुकाइरहेको छ ।

यसैका लागि नेपाली दाजुभाइ दिदीबहिनीले स्थायी सरकार खोजेको हो ? इन्टरनेटमा भेटिएका नमूना र शब्दकोषबाट नयाँ नयाँ शब्दजाल निकालेर जनताको ब्रेनवास गर्न पल्किएका नेपाली कम्युनिष्टले अव असफलता र असक्षमताको दोष कोमाथि थुपार्ने हुन्, हेर्न बाँकी छ ।

राजालाई दोष दिऊँ, राजतन्त्र गैसक्यो, काङ्रेसलाई दोष दिऊँ, कम्युनिष्टले जस्तो उसले रेलिङ भाच्ने र उपद्रो मच्चाउने पनि गरेको छैन । नीतिगत भ्रष्टाचारमा चुर्लुम्म डुबेको कम्युनिष्ट सरकारले भारतलाई दोष दिएर उम्कन केही प्रपन्च रचिरहेको भान मिल्छ ।

आफू केही गर्न नसक्ने अनि अरुमाथि अनेक लान्छन लगाएर ओभानो बन्न खोजेको देखिन्छ । उदेकलाग्दो त के छ भने सुरुङ युद्धको हुङकार गर्ने प्रचण्ड समेतका क्रान्तिकारी उपमाको ठेकदारी गरेका हुँ भन्ने पनि ओली-गोयल भेटलाई नतमस्तक भएर मौन समर्थन गर्दै आफ्नो स्वामिभक्ति दर्शाइरहेका छन्, हुन त ऊनीहरूको राजनीतिक लालनपालन र शिक्षादिक्षा पनि उतै भएको अब छताछुल्ल नै भैइसकेको छ ।

तर ओलीसरकारको यस किसिमका गतिछाडा तरिकाले नेपालको स्वाधिन र सार्वभौम अक्षूण्ण छविमा गम्भिर धक्का लागेको छ, के यो हामी सबैको साझा चिन्ता र सरोकारको विषय होइन ?

देशको अभिभावकीय भुमिकामा रहेका ओलीले दोहोराईरहेका यस्ता गैरजिम्मेवार कार्यले हाम्रो साख खस्किँदै गएको छ, के यो हाम्रो दलगत स्वार्थ भन्दामाथि ऊठेर सँगै जुर्मुराएर सचेत गराउने बेला होइन ? के यो दलको झण्डा भन्दामाथि ऊठेर राष्ट्रिय झण्डाको रक्षार्थ हाम्रो आवाज बुलन्द हुनुपर्दैन ? यो नेपालीको समस्या हो ।

राजदुत लगाएतका प्रतिनिधिले उक्त मुलुक तथा अन्तराष्ट्रिय निकायमा नेपाली राज्यको प्रतिनिधित्व गर्छन् ।
राज्यको हित र स्वार्थलाई बल पुग्ने गरी सम्बन्ध विस्तार र समन्वय गर्नुपर्ने हुन्छ । भागबन्डामा आफ्ना मान्छे विविध स्वार्थमा भर्ना गरेर यति महत्वपूर्ण पदमा गएका तर त्यस सम्बन्धी ज्ञान नभएका व्यक्तिहरूले अन्तराष्ट्रिय मन्चमा के गर्छन् ?

सायद भर्ना गरेर जागिर खुवाएका नेता र आफ्नै रहर पूरा गर्छन्, कामदारबाट असुली गर्ने, व्यवसायीक स्वार्थमा लिप्तमा हुने लगाएतका समाचार नौलो रहेन ।

स्थिर सरकार छ, दुई तिहाइ छ, एउटै दलको सरकार छ, बेरोकटोक नियुक्ति गर्न सक्ने अख्तियारी छ, सबै छ तर देशको लागि योगदान दिन सक्ने, अन्तराष्ट्रिय प्रभाव बढाउन सक्ने, बदलिदो विश्वव्यवस्थालाई बुझी सोहि अनुरूप काम गर्न समर्थ, क्षमतावान व्यक्ति छानीछानी नियुक्त गर्ने निस्वार्थ देशप्रेम कहिँकतै छैन ।

शक्तिको दुरूपयोग गरी जताततै आसेपासेलाई विना मूल्याङ्कन नै पटकपटक अवसर दिने र सरकारै पिच्छे राजदूत परिवर्तन गरी देशभक्त हैन विदेशमा पनि नेताभक्त भिड जम्मा गर्नेतिर खटाएका छन् ।

खतिवडा र हालै निवृत्त मुख्यसचिव राजदुत नियुक्ति त्यसैको पछिल्लो कडि हो भन्न सकिन्छ । स्थिर र दुई तिहाईको सरकार के मा अब्बल ? अन्तराष्ट्रिय सम्बन्ध र प्रभाव विस्तार झन्झन गिर्दो अवस्थामा छ ।

दुई तिहाईले के गर्यो त, कुर्सिमा ओलीलाई राख्ने र उनका आसेपासेलाई पोस्ने बाहेक ? युरिया मल कृषकलाई चाहियो, कोरोना महामारीलाई वेवास्ता गर्दै जनता लाईनमा बसेर कुरे तर पाएनन् । वाली लाउने बेलामा चाहिने मल बाली थन्क्याउने बेलामा आउने रे ।

बङ्लादेशबाट मल ल्याउने कुरा भयो, ओलीले समकक्षिसंग फोन सम्पर्क गरे, झारा तिरे, कामचाहि भएन । सर्वहारा वर्गको मसिहा भनेर फलाक्नेहरू वालीमा मल हाल्ने व्यवस्था गर्न सक्दैनन, गफ चाहि नयाँ नेपाल र कृषि क्रान्तिको गर्छन् ।

समयमै पैसा तिरेर मल ल्याउन सक्ने काबिलियत र हैसियत छैन, के सम्बन्ध विस्तार गरेका छन् ? आफूले त बनाउन सकेनन् नै, जनताले तिरेर पनि समयमै पाएनन् । छिमेकी बङ्लादेश र कतैबाट पनि ल्याउन सकेनन् ।
हुति कति रैछ विदेशमा थाहा पाए सबैले ।

मङ्सिरमा मल ल्याउन सक्ने सम्भावना देख्दछु, कमिसनको जो कुरा छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले विदेशि मित्रहरूसँग हातेमालो गर्न जरूरी छ् । यो साझा वैश्विक समस्या हो ।

एक्लाएक्लै भन्दा पनि जुटेर यसलाई परास्त गर्न हरेक अन्तराष्ट्रिय मञ्चहरूमा गर्विलो नेपाली उपस्थितिको लागि ओलीज्यु सच्चिन तयार हुनुपर्छ । उदहारण पेश गर्न सक्नुपर्छ । उखानटुक्कामा विदेशि अलमलिँदैनन् ।
संक्रमणको जोखिम दैनिक ५ हजारभन्दा नि नाघिसकेको छ । योजनाविहीन कार्यले जोखिम समुदाय स्तरमा फैलिसकेको छ ।

सरकारले गैरजिम्मेवारी देखाउँदै नागरिकको उपचारवाट पछि हटिसकेको छ । जनदवावको खाँचो देखेको छु । यो सरकार गरिवसँग छैन ।

समग्रमा भन्नुपर्दा ओली–गोयलको कुटनीतिक मर्यादा विपरित भएको यो भेटघाट ओली सरकारको गैरजिम्मेवार र पदीय गरिमा विपरित गरेका कार्यहरूको पछिल्लो संस्करण मात्रै हो । यसको फेहरिस्त लामो छ ।

यस्ता चालचलनले ओलीको स्वार्थ त पूरा होला, तर राष्ट्रिय हित र स्वार्थलाई धक्का दिएको छ । यसले गलत अभ्यास र परम्परा बस्छ जसले भावीपुस्तालाई पनि वेइज्जतिले पिरोल्छ । अझ हाम्रो राष्ट्रिय मनोबल पनि झर्छ ।
ओली सच्चिन जरूरी छ ।

समयमै आफ्नो भूवस्तुस्थितिलाई बुझी छिमेकीको उचित सरोकारलाई सम्बोधन गर्दै आफ्नो राष्ट्रिय हितलाई सर्वोपरी मानी सरकार अघि बढ्नुपर्छ । ओलीले आफू उदहारणको रूपमा प्रस्तुत हुदै गिर्दो साखलाई उजिल्याउन अनुभवी र क्षमतावान टिम बनाई अघि जानुपर्छ । अनि प्रधानमन्त्रीको कुर्सीमा बसेपछि त्यसको गरिमालाई नि ख्याल गर्नुपर्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button