६ वर्षीया बालिकाको हत्यापछि तनावपूर्ण रहेको बर्दिवासमा निषेधाज्ञा जारी

बर्दिवास । ६ वर्षीया बालिकाको हत्याको विषयलाई लिएर तनावपूर्ण रहेको महोत्तरीको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका स्थानीयको उपचारका क्रममा मृत्यु भएपछि पुनः तनाव बढ्ने भन्दै स्थानीय प्रशासनले बर्दिवास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि बर्दिवासमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

बर्दिवास नगरपालिकाको पूर्वमा वडा नम्बर १ को रातो खोला, पश्चिममा वडा नम्बर ५ को माइस्थान, उत्तरमा वडा नम्बर ३ को गौरीवास (पाटु) र दक्षिणमा वडा नम्बर ८ को हात्तीलेट क्वार्टर चौकीसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

निषेधाज्ञाका बीच पनि पूर्व–पश्चिम राजमार्ग भने शुचारु रहने छ । मानिसहरुले घरबाहिर निस्किन पूर्ण रुपमा रोक नलगाइए पनि ५ जनाभन्दा बढी व्यक्ति भेला तथा जम्मा हुन पाउने छैनन् ।

आइतबार साँझदेखि हराइरहेकी बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव शाह खातुनको सोमबार मध्यराति शव फेला परेको थियो ।

आइतबार साँझदेखि हराएकी गुलावको प्रहरी र स्थानीयले खोजी व्यापक बनाएका थिए । सोमबार दिउँसोसम्म खोजी गर्दा पनि गुलावबारे केही जानकारी मिलेको थिएन ।

पछि, बर्दिबासमा किराना पसल गर्दै आएका गौशाला नगरपालिका–५ घर भएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको भन्दै हिँडेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सोमबार राति रक्सी पिएर आफ्ना घर गएका साहले परिवारका सदस्यलाई बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसपछि प्रहरीले उनलाई सोमबार राति नै पक्राउ गरेको थियो ।

साहलाई नै लिएर खोजी गर्ने क्रममा उनले भनेकै स्थानमा प्रहरीले बालिकाको शव फेला परेको थियो ।

गुलावको शव बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडि विनोद साहको खाली जमिनमा फेला परेको थियो ।

हत्या गरी बोरामा कोचिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । बालिकाको शव फेला परेपछि आक्रोशित स्थानीयले मंगलबार बिहानै हत्या आरोपमा पक्राउ परेका साहको घरमा समेत आगजनी गरेका थिए ।

मंगलबार बिहानैदेखि स्थानीयले बर्दिवास बजारमा प्रदर्शन गरेका थिए । स्थानीयले मृतक बालिकाको शव सडकमा राखेर प्रदर्शन गर्न थालेपछि प्रहरीले गोली चलाएर शव नियन्त्रणमा लिएको थियो ।

प्रहरीले चलाएको गोली लागेर ३ जना स्थानीय घाइते भएका थिए । घाइते भएकामध्ये बर्दिवास नगरपालिका–१ बस्ने ४० वर्षीय संयज भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको हो ।

न्यौपानेको मृत्यु पछि स्थानीय थप आक्रोशित बनेका छन् । गोली चलाउने प्रहरीमाथि कारबाहीको माग गर्दै स्थानीयहरुले बुधबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग नै बन्द गराएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button