‘सरकार आफ्ना कार्यकर्ताको व्यवस्थापनमा लाग्यो’

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले जनताप्रतिको जिम्मेवारीबाट पन्छिएर सरकार संकटको घडीमा पनि आफ्ना निकटस्थहरुको राजनीतिक व्यवस्थापनमा लागेको टिप्पणी गरेकी छन् ।
सरकारनिकटका नेता–कार्यकर्तालाई जागिर खुवाउने सोचका साथ मन्त्रिपरिषद्ले भूमिसम्बन्धी समस्या समाधान आयोगको नियुक्ती गरेको उनको आरोप छ ।
आयोग गठन समय सापेक्ष नभएको भन्दै नेतृ संग्रौलाले भनेकी छन्, “यो त बेमौसमको बाँसुरी बजाए जस्तै हो ।” उनले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै अहिले सरकारको मुख्य जिम्मेवारी महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितको उपचार गर्नुमात्रै भएको स्मरणसमेत गराएकी छन् ।
उनले लकडाउनको अवस्थामा रोजगारी गुमाएर अलपत्र परेका मजदुरको उचित खानपिन र बसोबासको व्यवस्था गर्न पनि सरकारसँग माग गरेकी छन् ।
प्रेस विज्ञप्ति
कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारी भइरहेको वर्तमान अवस्थामा सरकारको मूलकार्य महामारी नियन्त्रण, न्यूनीकरण र संक्रमितहरुको उपचार गर्नु हो ।
तर, वर्तमान सरकार जनताप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिदै संकटको घडीमा पनि आफ्ना निकटस्थहरुलाई राजनीति व्यवस्थापन र जागिर खुवाउने सोचका साथ मन्त्रिपरिषद्ले भूमिसम्बन्धी समस्या समाधान आयोगको नियुक्ती गरेको देखिन्छ । जुन समय सापेक्ष छैन ।
यो त वेमौसमको बाँसुरी बजाए जस्तै हो । अहिले सरकारको मुख्य जिम्मेवारी भनेको महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितको उपचार गर्नु नै हो । तर, यो सरकारलाई प्रतिपक्षी दल लगायत सबैको साथ हुँदाहुँदै ठीक बाटोमा हिँड्न सकेन, जबकी सबै जनताले लकडाउनको पालना गरी सरकारलाई सहयोग गरिरहेका छन् ।
स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरी अगाडि बढ्नुको सट्टा मतियारहरुलाई समेत स्वयं सरकारले ढाकछोप गर्न लागेकोमा नेपाली जनतामा आक्रोशको भावनासमेत पैदा भएको छ । महामारी नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी एवं स्थानीय जनप्रतिनिधिहरुले गरेको कामको उच्च सम्मान प्रकट गर्दै सरकारको तर्फबाट सुरक्षालगायत आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण गर्दछु ।
लकडाउनको अवस्थामा रोजगारी गुमाएर अलपत्र परिरहेका मजदुर श्रमिकको उचित खानपीन र बसोबासको व्यवस्थ ागर्न नसक्दा भोकै नाङ्गै पैदल यात्रा हिँडिरहेका श्रमिकको समूचित व्यवस्थापन गर्नसमेत सरकारसमक्ष अनुरोध गर्दछु ।
डा. डिला संग्रौला पन्त,
प्रतिनिधिसभा सदस्य, नेपाली कांग्रेस