खेलकुल बिभागबाट बाह्रबिसेमा रक्तदान

रातोपाटी न्युज, सिन्धुपाल्चोक । नेपाली काँग्रेस केन्द्रीय खेलकुद बिभागले बिहिबार बाह्रबिसेमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय ३३ जनाले रक्तदान गरेका छन् ।
मुलुकमा कोरोना भाइरस संक्रमणका कारण रगत अभाव भई धेरै ब्यक्तिको ज्यान जान सक्ने अबस्था नहोस् भनेर रक्तदान गरिएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद बिभागका केन्द्रीय अध्यक्ष मोहन बहादुर बस्नेतले जानकारी दिनुभएको छ ।
बाह्रबिसेमा भएको रक्तदान कार्यत्रमका संयोजक एवम खेलकुद बिभागका केन्द्रीय सदस्य टपेन्द्र बहादुर दर्नालले देशका हरेक अस्पतालमा कोभिड १९ का बिरामीहरु रगत अभावले मृत्यु समेत भएकाले त्यसका समाधान गर्न रक्तदान कार्यत्रम गरेको बताउनु भएको छ ।
तरुण दल जिल्ला समितिका पूर्व कोषाध्यक्ष समेत भईसकेका दर्नालले रक्तदान गर्ने सबैलाई आभार ब्यक्त गर्नु भएको छ ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसी (बिनोद), बाह्रबिसे नगरपालिका-१ का अध्यक्ष कामी शेर्पा, ३ का वडा अध्यक्ष टेक बहादुर भण्डारी, वडा नम्बर ५ का अध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठ, सुनकोशी गाउँपालिका ५ का अध्यक्ष देबेन्द्र खड्का लगायतका जनप्रतिनिधि, काँग्रेसका कार्यकर्ता र सर्वसाधारणहरुले रक्तदान गरेको काँग्रेस नेता युधिर पौडेलले जानकारी दिनुभयो ।
खेलकुद बिभागले मंसिर ७ गतेबाट १४ गतेसम्म देशब्यापी रक्तदान कार्यक्रम गर्न थालेको छ ।
यसअघि ७ गते ललितपुर भक्तपुर, काठमाडौं, बनेपामा रक्तदान गरेको थियो भने भोलि नेपालगञ्जमा गर्ने जनाएको छ ।
ब्लड डोनर्स एशोसिएशन नेपालका स्वास्थकर्मीले रगत संकलन गरेका थिए ।