युवती बलात्कार प्रकरणमा दुईजना पक्राउ, मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी

बलदेब सिंह नायक, बैतडी / बैतडीमा सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा सिगास गाउँपालिका ३ का मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएर अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बलात्कारको घटना मिलाउन खोज्ने दुवैजनामाथि अनुसन्धान शुरु भईसकेको उहाँले बताउनुभयो । बलात्कारको घटनामा संलग्न भनिएका दीपकसिंह धामी भारतमा रहेका बुझिएको छ भने अर्का एकजनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
सिगास गाउँपालिका ३ की १८ बर्षीया किशोरीमाथि गत जेठमा बलात्कार भएको घटना झण्डै ६ महिनापछि बाहिर आएको हो । गत जेठमै किशोरीमाथि बलात्कार भएपनि त्यो बेला पीडित पक्षलाई एकतोला सुन दिने भन्दै त्यो घटना गाउँमै मिलाएको र पछि पीडितलाई सुन नदिएपछि घटना बाहिर आएको हो ।
१८ बर्षीया किशोरीमाथि साँझको समयमा बलात्कार भएको र त्यो घटनालाई गत असार १४ गते गाउँमै तमसुक बनाएर मिलाएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
कार्तिक मसान्तमा पीडित पक्षलाई एकतोला सुन दिने शर्त राख्दै तमसुक बनाइएको थियो । कार्तिक मसान्तमा सुन दिनुको सट्टा पीडिकले पीडित पक्षलाई धम्क्याउन थालेपछि बलात्कारको घटना बाहिर आएको हो । यो घटनामा संलग्न सबैलाई कानुनी कठघरामा ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।
पीडित किशोरी सहित उनका आफन्तलाई अहिले जिल्ला अस्पातलको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।