राहतका लागि चेपाङको बदनाम गर्दै क्रिश्चियनका केही अगुवाहरु !

मनहरी–संकटका बेला राहत बितरणलाई पश्चिम मकवानपुरका केही क्रिश्चियनका अगुवाहरुले ‘अबसर’.का रुपमा लिने गरेका घटनाहरु नौला होइनन् ।

खासगरी भूकम्पका बेला विभिन्न चर्चका पास्टरहरुले राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकामा मनलाग्दी रुपमा राहतको रुपमा चामल, दाल, जस्तापाता, लत्ताकपडा माग्ने र बितरण गर्ने कार्यले निरन्तरता पाएको थियो । त्यसबापत केही क्रिश्चियन अगुवाहरुले गाडी भाडा भन्दै राम्रै रकम असुली गरेको समाचार यसअघि नै मनहरी लाइभ डटकमले सार्बजनिक गरेको थियो ।

अहिले कोरोना संक्रमण रोक्न लक डाउन गरिएको बेला पनि पश्चिम मकवानपुरका केही क्रिश्चियन अगुवाहरुले यस्तै खेती सुरु गरेका छन् । मनहरी गाउँपालिका वडा नं ७ मा ६० परिवार चेपाङले खान नपाएर जंगल पसेको र जंगलमा गिट्ठा, भ्याकुर, चुइयाँजस्ता कन्दमुल खाइरहेकाले सहयोग पाउँ भनी क्रिश्चियन मिसनका संस्थाहरुमा आग्रह गरेको पाइएको छ ।

क्रिश्चियन अभियन्ता तुल्सी श्रेष्ठले फेसबुकमार्फत भयाबह फोटो पोस्ट गर्दै मनहरी गाउँपालिका ७ मा ६० घर चेपाङ परिवार जंगलमा गएर कन्दमुल खान बाध्य भइरहेको भन्दै सहयोगको आग्रह गर्नुभएको छ । मनहरीतिरकै स्थानीय पास्टरहरुले यस्तो फोटो पठाएर राहत माग गरेको उहाँले उल्लेख गर्नुभएको छ । यद्यपि कसले त्यस्तो फोटो पठाएर सहयोग माग गरेको हो भन्नेबारे खुलेको छैन ।

फोटोमा जंगलमा केही तरुलहरु खनिरहेको जस्तो दृष्य देखिन्छ । त्यसैगरी साना बालबालिकाहरुले पनि जंगलमा केही चीजका निम्ति खनिरहेको, थोरै तरुल नयाँ चुल्होमा पोल्न लागिएको दृष्यहरु पोष्ट भएका छन् । ती फोटोहरु हेर्दा केही चेपाङ परिवारका मानिसहरु खान नपाएर घर छाडेर जंगलै पुगेको जस्तो देखिन्छ । ‘राहत माग्नका लागि बनावटी र नाटकीय फोटो खिचेको भान हुन्छ’, मनहरीका एकजना चेपाङ अगुवा तथा पास्टरले भन्नुभयो ।

तर मनहरी गाउँपालिका ७ नं वडामा त्यस्ता प्रकृतिका मानिसहरु नरहेको वडाध्यक्ष ठाकुरराम तितुङ बताउनुहुन्छ । उहाँका अनुसार त्यति धेरैको संख्यामा एकै बस्तीमा ७ नं वडामा चेपाङहरु नै छैनन् । खान नपाएका परिवारलाई वडा कार्यालयमार्फत सबैलाई दाल चामलको व्यवस्था गरिएको उहाँको भनाई छ । ‘जनप्रतिनिधि र समग्र चेपाङ समुदायको बदनाम गर्नेगरी कसले यस्तो गरिरहेको छ?’ वडाध्यक्ष तितुङले भन्नुभयो–‘खानै नपाएर जंगल जानुपरेको भए पनि वडा कार्यालय र गाउँपालिकामा सम्पर्क राख्नुपर्छ ।’

वडा नं ७ मा त्यति धेरै संख्यामा चेपाङ बस्ती नरहेको र बिचल्ली अबस्था नभएको वडाध्यक्ष तितुङको भनाईपछि मनहरी लाइभ डटकमले वडा नं ६ का वडाध्यक्ष गोपीलाल मुक्तानसँग सम्पर्क गर्दा त्यति धेरै संख्यामा एउटै बस्तीमा चेपाङहरु नरहेको बताउनुभयो । ७ नं को सीमानामा पर्ने प्रतापपुरमा १२–१४ घर चेपाङ रहेको र केही दिनअघि सबैलाई २५ किलो चामलसहित दाल चामल व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

केही नपुग भए फेरि दोस्रो चरणमा बितरण गर्न सकिने उहाँले बताउनुभयो । तर सामाजिक सञ्जालहरुमा त चेपाङहरुले खानै नपाएर जंगल गएर कन्दमुल खाइरहेका फोटोहरु आइरहेका छन् नि भन्ने प्रश्नमा वडाध्यक्ष मुक्तानले भन्नुभयो–‘मनहरीका जंगलहरुमा गिट्ठा, भ्याकुर नै पाइँदैन, पहाडी भेगबाट तरुलहरु ल्याएर कसैले फोटो खिचायो होला ।’ उहाँले पनि त्यस्तो दुखद् अबस्था भए सीधै वडा कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्नुभयो । ‘खानै नपाउने परिवारलाई हामी जसरी नि जोगाउँछौँ, चेपाङ परिवारलाई त झन् प्राथमिकतामा राखेका छौँ’, वडाध्यक्ष मुक्तानले बताउनुभयो ।
क्रिश्चियन समुदायको नाउँ बेचेर राहत संकलन गर्ने माग्ने कार्यको पश्चिम क्षेत्रका क्रिश्चियन अगुवाहरुले नै विरोध गर्न थालेका छन् । ‘भूकम्पपीडित भन्दै राहत माग्दै ल्याउने र सुटुक्क अपारदर्शी ढंगले बाँड्नेहरु फेरि कोरोनाको नाउँमा पनि पैसा कमाउन लागेका हुन सक्छन्’, मनहरी लाइभसँग कुरा गर्दै एक चेपाङ अगुवा तथा पास्टरले भन्नुभयो ।

भूकम्पका बेला केही पास्टरहरुले करोडौँका चामल, दाल, जस्तापाता बाँडिए पनि सरकारसँग अभिलेख छैन । अहिले मनहरी ७ को नाउँमा दर्दनाक फोटो देखाएर राहत माग गरिएको घटना पनि सरकारसँग समन्वय भएको पाइएको छैन । यसरी सरकारसँग राहत नमागेर अन्यत्रै राहत माग्ने र फोटो देखाएर राहत माग्ने तौरतरिकाको मनहरी गाउँपालिकाले आपत्ति जनाएको छ । गाउँपालिकाले यसबारे अनुसन्धान थालेको र दोषीमाथि कारबाही प्रक्रिया थाल्ने जनाएको छ ।
मनहरीका चेपाङहरु गिट्ठा भ्याकुर खानुपर्ने अबस्था छैनः अध्यक्ष प्रकाश
नेपाल चेपाङ संघ मनहरी गाउँपालिका इकाई समिति अध्यक्ष प्रकाश राना चेपाङले गिट्ठा भ्याकुर खाएर बाँच्नुपर्ने अबस्थामा मनहरी गाउँपालिका चेपाङहरु नरहेको बताउनुभएको छ ।

उहाँले मनहरी गाउँपालिकाले वडा कार्यालयमार्फत राहत बितरण गरेकाले त्यस्तो समस्या नरहेको बताउनुभयो । संघले पनि जनप्रतिनिधिहरुसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो । ‘यदि खानै नपाउने र जंगलमा गएर बस्नुपर्ने अबस्था आएको हो भने हामी पनि संघको तर्फबाट उनीहरुका ज्यान जोगाउन लाग्छौ’, अध्यक्ष प्रकाशले भन्नुभयो ।

राहतको नाउँमा जात, धर्म, पार्टी भनेर कसैले पनि चेपाङको नाउँ बिक्री गर्न नहुने र त्यसो गरेको पाइएमा दोषीमाथि कडा कारबाही हुनुपर्ने अध्यक्ष प्रकाशको भनाई छ । Source: manaharilive.com

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button