सुरक्षा खतराको कारण धुम्बाराहीबाट बालुवाटार सारियो नेकपा बैठक !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीबाट प्रधानमन्त्री निवास बालुवाटार सारिएको छ।
यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकले आजका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालयमा बस्ने निर्णय गरेको भए पनि अन्तिम समयमा आएर प्रधानमन्त्री निवासमा सारिएको हो। बैठक दिउँसो १ बजे निर्धारित समयमा नै नै बस्ने छ।
बैठक सार्नुको कारण भने सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार सुरक्षा खतराको कारण बैठक धुम्बाराहीबाट पुनः बालुवाटार सारिएको हो ।
सुरक्षा निकायहरुले धुम्बाराहीस्थित पार्टी कार्यालय सुरक्षाको जोखिम रहेको सूचना दिएको भन्दै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष जानकारी पठाएका थिए । तर प्रचण्डले यसअघिको सचिवालय बैठकले पार्टी कार्यालयमा राख्ने निर्णय भएको भन्दै त्यही बैठक राख्नुपर्ने अडान लिएका थिए।
जवाफमा बालुवाटारबाट सुरक्षा चुनौती भएका कारण बैठक धुम्बाराहीमा राख्न नमिल्ने जवाफ दिएको निकटस्थहरुले जनाएका छन् ।
प्रचण्डले ‘कसलाई पार्टी कार्यालयमा बैठक राख्दा असुरक्षा भएछ’ भन्दै प्रश्न गरेपछि बालुवाटारको तर्फबाट ‘त्यसबारे सबै जानकारी गृह मन्त्रालयसँग रहेको जवाफ पठाइएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागले दिएको रिपोर्टको हवाला दिँदै गृहमन्त्रीले समेत ‘गम्भीर सुरक्षा थ्रेट’ रहेको बताएका थिए । त्यसैलाई आधार मान्दै आज दिउँसो धुम्बाराहीस्थित पार्टी मुख्यालयमा हुने भनिएको सचिवालय बैठक पुनः बालुवाटारमै हुने भएको हो ।