ओली र प्रचण्डका ‘प्रस्ताव’माथि नेकपामा औपचारिक छलफल शुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले एक–अर्काप्रति विभिन्न आक्षेप लगाउँदै केन्द्रीय सचिवालयमा पेश गरेका ‘प्रस्ताव’माथि औपचारिक छलफल शुरु भएको छ ।
मंगलबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकमा ओली र प्रचण्डका अलग्गा–अलग्गै ‘प्रस्ताव’माथि छलफल अगाडि बढाइएको छ ।
सचिवालयको बैठकले दुवै अध्यक्षका प्रस्तावमाथि औपचारिक तथा अनौपचारिक छलफल अगाडि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
दुवै प्रस्तावमाथि मंगलबारको बैठकमा औपचारिक छलफल शुरु भएको र छलफल अझै नसकिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
प्रवक्ता श्रेष्ठले दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो १ बजे केन्द्रीय सचिवालयकै अर्को बैठक बस्ने बताए ।
छलफल सकिएपछि मात्रै दुवै प्रस्तावका सन्दर्भमा निर्णय हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
गत भदौको अन्तिम साता सकिएको नेकपाको स्थायी कमिटी बैठकले आन्तरिक विवाद समाधान गरेको बताइएपछि त्यसपछि पुनः विवाद चर्किएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डको असमझदारीका कारण बढेको विवाद दुवै अध्यक्षले एक–अर्कालाई गम्भीर आक्षेप लगाउँदै पार्टी कमिटीमा अलग्गा–अलग्गै प्रस्ताव दर्ता गर्ने अवस्थासम्म पुगेको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली कम्युनिस्ट विचार तथा व्यवहारबाट स्खलिग हुँदै गएको लगायतका आरोप लगाउँदै कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव पेश गरेका थिए ।
वरिष्ठ नेता झलनाथ खनाल तथा माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ समेतको समर्थनमा ल्याइएको उक्त प्रस्ताव फिर्ता गराउने प्रयास सफल नभएपछि ओलीले पनि अर्को प्रस्ताव सचिवालय बैठकमा पेश गरेका थिए ।
प्रचण्डले पेश गरेको प्रस्तावमा लगाइएका आरोपबारे जवाफ फर्काउँदै ओलीले आफ्नो प्रस्ताव सचिवालय बैठकमा पेश गरेका थिए ।
पार्टीले आफूविरुद्ध प्रचण्डले पेश गरेको प्रस्ताव खारेज हुनुपर्ने पनि आफ्नो प्रस्तावमा माग गरेका छन् ।