नेकपा सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओली नजाने

काठमाडौं । आन्तरिक विवादमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो १ बजेका लागि तय भएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली नै उपस्थित नहुने भएका छन् । उनले हिजो मंगलबारको बैठकबाट बाहिरिने क्रममा बैठकमा उपस्थित हुनुको अर्थ नरहेको बताए थिए।

हिजो बसेको बैठकमा दुई अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बाझाबाझ नै भएको बताइएको छ ।

दुई अध्यक्षबीचको विवादमा सचिवालयका बहुमत सदस्यले दाहालको पक्ष लिएपछि अप्ठेरोमा परेका ओली बैठकमा उपस्थित हुनुको अर्थ छैन भन्दै बैठकबाट बाहिरिएका थिए।

उनी आजको बैठकमा नजाने ओली निकट एक नेताले जानकारी दिएका छन्।

मङ्गलबारको सचिवालय बैठक चर्काचर्कीमा परिणत भएपछि बिहीबारको स्थायी कमिटी समेत अन्यौलग्रस्त बनेको छ । मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।

अध्यक्ष नै बैठकमा उपस्थित नहुने भएपछि आजको बैठक बस्ने कि रोक्ने भन्ने अन्योल बढेको छ। यद्यपि कार्यकारी अध्यक्ष दाहालसहितका बहुमत सदस्य जो जो उपस्थित हुन्छन्, उनीहरु मात्रै बसेर भएपनि बैठक अघि बढाउनु पर्ने पक्षमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button