साझा पार्टीसँग एकता गर्नु अगाडि नै फुट्यो विवेकशील दल

काठमाडौं । साझा पार्टीसँग एकता गर्ने भएपछि विवेकशील नेपाली दल फुटेको छ ।

साझासँगको एकताप्रति असन्तुष्ट रहेका विवेकशील दलका केही पदाधिकारीहरुले अलग्गिएको घोषणा गरेका छन् ।

विवेकशीलकी उपाध्यक्ष अजीता राईसहित १३ संघीय समितिका जनाले साझासँगको एकताप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

१३ जनाले बिहीबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दुई दलबीचको एकतामा सहभागी हुन नसक्ने बताएका छन् ।

उनीहरुले फेरि पार्टी दर्ताका लागि आफूहरुको विचारसँग सहमत हुनेहरुबीच छलफल गरी छिट्टै अगाडि बढ्ने पनि बताएका छन् ।

विवेकशील नेपाली दलको संघीय समितिमा ३५ जना रहेका छन् । जसमध्येका १३ जनाले साझासँगको एकतामा सहभागी नहुने जनाएपछि अब २२ जना संघीय समितिका सदस्य साझासँगको एकता प्रक्रियामा सहभागी हुनेछन् ।

विवेकशील दलका उपाध्यक्ष अजीता राईसहित सचिव (कार्यालय व्यवस्थापन) संगीता बटाजुसहित संघीय कार्यसमिति सदस्यहरु कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजयबाबु शिवाकोटी, जैसन बैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदीले साझा पार्टीसँगको एकता प्रक्रियामा सहभागी नहुने जनाएका हुन् ।

रवीन्द्र मिश्र नेतृत्वको साझा र मिलन पाण्डे अध्यक्ष रहेको विवेकशीलबीच यसअघि नै एकता गर्ने सहमति भइसकेको छ ।

एकतापछि बन्ने विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक रहने सहमति भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button