‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं : राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकतापछि बनेको जनता समाजवादी पार्टी’ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

बिहीबार बिहान आयोगको कान्तिपथस्थित कार्यालयमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । आयोगका अनुसार जनता समाजवादी पार्टीको दर्ता नम्बर १३८८ रहेको छ ।

एकतामा सहभागी दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

पार्टी एकीकरणको सहमती पत्रसहित निर्वाचन आयोगलाई दिइएको पत्रमा राजपाका संयोजक शरदसिंह भण्डारी र समाजवादीका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सहज बनाउने गरी सोमबार अध्यादेश ल्याएपछि आत्तिएका जनता पार्टी र समाजवादीबीच रातारात पार्टी एकता भएको हो ।

दुबै क्षेत्रीय दलबीच पार्टी एकताका लागि विगतमा लामो कसरत भएपनि पदमा भागबण्डा नमिल्दा एकता लम्बिदै आएको थियो । दुई पार्टीले दल एकताका लागि समिति नै बनाएका थिए ।

तर एकता प्रयास असफल भइरहेका बेला पछिल्लो समय सरकारले यी दुई दललाई विभाजन गर्ने मनशायले अध्यादेश ल्याएपछि भने विगतमा टाढिएको एकता सम्भव भएको हो ।

एकतापछि समाजवादी पार्टीको झण्डा कायम गरिएको छ भने राजपाको चुनाव चिन्ह राखिएको छ ।

दुई पार्टी एकतापछि संघीय संसदमा राष्ट्रिय दलको संख्या तीन मात्रै भएको छ ।

यसैबीच आयोगमा दल दर्ताको निवेदन दिएपछि जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर पार्टी एकताको जानकारी गराएका छन् ।

सभामुखको सचिवालय सिंहदरबार पुगेर जसपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतले पार्टी एकता भएको र नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button