यात्रुसंग मनोमानी भाडा असुल, गन्तब्यसम्म नपुर्याएको जनगुनासो

बैतडी / १८ मंसिर २०७७, बिहिवार । बैतडीको दशरथचन्द नगरपालिका क्षेत्रलाई लकडाउन गरिदा जिल्लाबाहिरबाट आएका यात्रुहरु बिचबाटोमै अलपत्र पर्ने गुनासो आउन थालेको छ ।
कोरोना संक्रमण फैलिएको भन्दै सदरमुकामस्थित दशरथचन्द नगरपालिकालाई मंसिर २२ गतेसम्मका लागि लकडाउन गरिएको हो ।
खास गरेर तराईबाट सदरमुकामका लागि आएका यात्रुहरु अलपत्र पर्ने गरेका हुन् ।
तराईबाट तथा जिल्ला बाहिरबाट यात्रुहरु ल्याएर सतबाँझमा छोड्ने गरेको यात्रुहरुले गुनासो गर्ने गरेका छन् ।
सतबाँझमा अलपत्र परेका यात्रुहरुबाट सदरमुकाम पुर्याईदिने भन्दै जीप व्यवसायीले मनोमानी भाडा समेत लिने गरेका छन् ।
जीप व्यवशायीले मनोमानी भाडा लिन थालेपछि यात्रुहरु मारमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले यात्रुहरुलाई बिचबाटोमै नछोड्न यातायात ब्यवसायीलाई भनेको बताउनुभयो ।
यात्रुहरुलाई गन्तव्यमा नपुगाई बिच बाटोमै छोडे तथा जीप व्यवसायीले मनोमानी भाडा असुलेको पाईएमा कारवाही हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।