अध्यादेशविरूद्ध संसद भवनअघि कांग्रेसको प्रदर्शन

सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले संसद भवन अगाडि प्रदर्शन गरेका छन्।
लोकतन्त्र दिवसको अबसरमा बिहीबार विहान उनीहरूले लोकतन्त्रको सम्मान र अध्यादेश खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्। कांग्रेस नेता रञ्जित कर्णका अनुसार सामाजिक दूरी कायम गरी प्रदर्शन गरिएको हो।
नेविसंघ नेता भुवन भट्ट, क्षितिज भण्डारी, ऋषि कोइराला, सञ्जिव निरौला, योगेश भट्ट, विनोद शाही ठकुरी, महेन्द्र राज, भूपेन्द्र जोशीलगायतले संसद भवन नयाँ वानेश्वरअगाडि सडकमा प्रदर्शन गरेका हुन्।
‘संविधानको मर्मविपरीत ल्याइएका लोकतन्त्र विरोधी अध्यादेश खारेज हुनुपर्छ,’ कर्णले भने, ‘लोकतन्त्र कमजोर बनाउन ल्याइएका अध्यादेश खारेज नगरे चरणवद्ध आन्दोलन गर्छौं।’
उनीहरूले भ्रष्टचारीलाई कारबाहीको पनि माग गरेका थिए।