वामदेवले डिभाइडर नाघ्दै गरेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले राखेपछि नेकपामा चर्चा

आइतबार विहान उनले आफ्नै पार्टीका उपाध्यक्ष एवं सचिवालय सदस्य वामदेव गौतमले सडकमा डिभाइडर पार गर्दे गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दे लेखेका थिए -‘को कस्तो? तस्वीर काफी छ !’
थापाले फेसबुकमा राखेको फोटो सुशील कोइराला नेतृत्वको सरकारमा वामदेव उपप्रधानमन्त्री एवम् गृहमन्त्री हुँदा नयाँ पत्रिकामा छापिएपछि चर्चामा आएको थियो ।
पार्टी उपाध्यको यस्तो तस्वीर राख्दै थापाले पोष्ट गरेपछि नेकपाका नेता कार्यकर्ता उनको पक्ष विपक्षमा उत्रिएका छन् ।
सामाजिक सञ्जालमा कतिपय ओली पक्षका नेता कार्यकर्ताले पार्टी नेताहरुमा थापाका पछिल्ला प्रतिकृयाहरु सही नभएको जनाएका छन् भने कतिपयले गल्ती गर्ने नेताको चित्रण गरेको भन्दै थापाले कुनै गल्ती नगरेको उल्लेख गरिरहेका छन् ।
पार्टीमा दुई अध्यक्षबीच विवाद जारी रहँदा ओली पक्षले थापाको केही प्रतिरक्षा गरेको र्भएपनि धेरैले भने आलोचना गरिरहका छन् ।
शुक्रबारको सचिवालय बैठकमा वामदेवले थापालाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट हटाउन माग गरेका समाचारहरु सार्वजनिक भएका थिए । यसअघि पनि उनले पटक पटक थापालाई हटाउनु पर्ने माग राख्दै आएका थिए । त्यसकै प्रतिक्रिया स्वरुप थापाले उपाध्यक्ष गौतमको उक्त तस्वीर राखेको कतिपयको अनुमान छ ।
गौतम र थापा दुबै प्युठानका हुन्। उनीहरूबीचको सम्बन्ध २०७४ को निर्वाचनपछि बिग्रिएको हो।
२०७४ को निर्वाचनमा आफू बर्दिया क्षेत्र नम्बर १ बाट पराजित हुनुमा थापा पनि जिम्मेवार रहेको भन्दै वामदेवले पार्टी कार्यालयमा उजुरी नै दिएका थिए। काठमाडौंमा बसेर आफ्नाविरूद्ध बर्दियाका कार्यकर्ता भड्काएको उनको आरोप थियो।