स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने ललितपुर महानगरको निर्णय

ललितपुर / ललितपुर महानगरपालिकाले कोरोना संक्रमण (कोभिड-१९)ले झण्डै नौ महिनादेखि बन्द रहेका विद्यालय खोल्न अनुमति दिएको छ ।

महानगरप्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति, वडा कार्यालयसँग समन्वय गरी विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो ।

बैठकमा नगरप्रमुख चिरीबाबु महर्जनले भने, ‘विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या समान छैनन्, यी सबै कुरा मध्यनजर गर्दै विद्यालय कहिलेबाट र कसरी संचालन गर्ने निर्णय व्यवस्थापन समितिलाई दिएका छौं, त्यो प्रभावकारी हुन्छ । ’

उनले विद्यालय संचालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र विद्यालय संचालन कार्यविधि अपनाउन समेत निर्देशन दिए ।

नगरप्रमुख महर्जनले सामुदायिक विद्यालयलाई आवश्यक पर्ने साबुन, पानी र मास्क महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्ति गरे ।

यसैगरी बैठकले स्वास्थ्यविज्ञ सहित महानगरले विद्यालय संचालनको अवस्था थाहा पाउन अनुगमन समितिले अनुगमन समेत गर्ने निर्णय गरेको छ ।

बैठकमा उपप्रमुख गीता सत्यालले व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुने भएकाले विद्यालय कहिले र कसरी खोल्ने निर्णय समितिलाई दिँदा त्यो प्रभावकारी हुने स्पष्ट पारिन् ।

उनले भनिन् ,‘ विद्यालय खोल्दा स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ ,त्यसको अनुगमन महानगरपालिकाले गर्छ । ’

सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले विद्यालयले स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय संचालन गर्ने जिम्मा व्यवस्थापन समितिलाई दिँदा प्रभावकारी हुने स्पष्ट पारे ।

बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला पनि उपस्थिति थिए ।

महानगरका शिक्षा सल्लाहकार लोकबहादुर खड्काले प्रविधि प्रयोग गरी लामो समयसम्म अध्ययन गरिरहेका विद्यार्थीमा मनोवैज्ञानिक समस्या उत्पन्न हुनसक्ने बताउँदै भने, ‘नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड अपनाउँदै जतिसक्दो छिटो विद्यालय खोल्नुपर्छ ।’

उनले वडा कार्यलय र शिक्षक अभिभावक समितिसँग छलफल गरी विद्यालय व्यवस्थापन समितिले गर्ने निर्णय प्रभावकारी हुने स्पष्ट पारे ।

ललितपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालय संचालन गर्दा विद्यालयको पूर्वाधार, क्षमतालाई ध्यान दिनुपर्ने धारणा राखे ।

स्वास्थ्य विशेषज्ञसहितको अनुगमन समितिले विद्यालयको अनुगमन गर्ने बताए ।

छलफलमा अभिभावक संघका केन्द्रीय अध्यक्ष केशव पुरा, अभिभावक महासंघका सुप्रभात भण्डारीले वर्तमान अवस्थामा विद्यालय संचालन संवेदनशील विषय भएको बताउँदै स्वास्थ्य सतर्कता, मापदण्ड पुरा गर्नुपर्ने बताए ।

बैठकमा प्याब्सन, एनप्याब्सन, नेपाल शिक्षक महासंघ महानगरपालिका प्रतिनिधि लगायतको सहभागिता थियो ।

ललितपुर महानगरमा सामुदायिक र संस्थागत गरी झण्डै दुई सय पचास विद्यालय छन् ।

ती मध्ये ४० सामुदायिक विद्यालय हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button