प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
मंसिर २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सो बैठक डाकिएको बालुवाटार स्रोतले बतायो। बैठकमा संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुने स्रोतले जनायो।
नेपालको संविधानको धारा २८४ मा संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन् भने लोकसेवा आयोग, वित्त आयोग लगायतका संवैधानिक निकायहरुमा लामो समयदेखी पदाधिकारी रिक्त छन्।
ती पदहरुमा कसलाई नियुक्ति गर्ने भन्नेबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल हुँदै आएको थियो । स्रोतका अनुसार रिक्त पदहरुमा नियुक्तिका विषयमा सहमति जुटेपछि ओलीले परिषद्को बैठक बोलाएका हुन् ।
अहिले बिभिन्न संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन्।