प्रधानमन्त्री ओली र भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्जबीच भेटवार्ता

उनले सत्तारुढ दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लागायतसँग भेटवार्ता गरेका छन् ।
चौथाइवाले शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, सरकारका मन्त्री र नेकपा नेताहरूसँग छलफल गरेका छन् ।
यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बालुवाटारमा भेटवार्ता गरेका थिए । भेटमा नेपाल भारत सम्बन्धलाई थप मजवुद बनाउने विषयमा कुराकानी भएको जनाइएको थियो । बिहीबार प्रधानमन्त्रीसँग भेटवार्तापछि चौथाइवालेले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग लामो छलफल गरेका थिए ।
चौथाइवालेले नेकपा महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । सबै भेटवार्ताबारे उनले ट्विटरमा सार्वजनिक गरेका छन् ।
चौथाइवाले अर्थमन्त्रीसमेत रहेका नेकपाका महासचिव पौडेलको निमन्त्रणामा काठमाडौं आएका हुन् । भारतबाट पछिल्लो दुई महिनाभित्रै भएको उनको चौथो भ्रमण हो ।
यसअघि ५ कात्तिकमा भारतीय लगुप्तचर एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयल, १९–२० कात्तिकमा स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र ११–१२ मंसिरमा परराष्ट्रसचिव हर्षबर्धन शृंगला काठमाडौं आएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने चौथाइवाले यसअघि पनि पटक–पटक नेपाल आएका छन् । भारतीय पक्षको पछिल्लो भ्रमण श्रृंखलालाई नेपाल भारत सम्बन्धमा आएको सुधारको रुपमा लिनुपर्ने पराष्ट्रविदहरुको भनाइ छ ।