‘विवाद मिलाउन’ ओली पक्षका नेताको दौडधुप, आजको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज (आइतबार) दिउँसो बस्दै छ ।

मंसिर २१ गते शुरु भएको बैठक केही घन्टा बसेर मंसिर २८ गते (आज)का लागि सारिएको थियो ।

२१ गते स्थायी कमिटी बैठकको शुरुवात गर्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीभित्रको संकटबारे छलफल गर्नु नै स्थायी कमिटी बैठकको कार्यसूची रहेको जनाएका थिए ।

नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने २१ गते बैठकमा अनुपस्थित भएका थिए । आइतबार दिउँसो बस्ने स्थायी कमिटी बैठकमा भने ओली सहभागी हुने जनाइएको छ ।

यसअघि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठक ओलीकै चाहनाअनुसार आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ ।

गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकबाट साम्य भएको भनिएको नेकपाको आन्तरिक विवाद पुनः चर्किएको छ ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीमाथि ‘गम्भीर आरोप’ लगाउँदै १९ पन्ने ‘राजनीतिक प्रतिवेदन’ पेश गरेपछि दुई अध्यक्षबीचमै आरोप पत्यारोप चलिरहेको छ ।

प्रचण्डले आफ्नो प्रतिवेदनमा लगाएका आरोपको जवाफ दिँदै ओलीले पनि सचिवालयमै आफ्नो ‘प्रतिवेदन’ पेश गरेका थिए ।

दुवै प्रस्तावका सन्दर्भमा सचिवालयमा कुनै निर्णय हुन नसकेपछि छलफलका लागि स्थायी कमिटी बैठकमा पेश गरिएको छ ।

मंसिर २१ गते बसेको बसेको बैठकमा ओली र प्रचण्डका ‘प्रतिवेदन’ पेश गर्दै प्रतिवेदन अध्ययनका लागि भन्दै १ हप्ताका लागि स्थगित गरिएको थियो ।

मंसिर २१ गतेको बैठक स्थगित भएपछि अध्यक्षद्व ओली र प्रचण्डबीच एक्ला–एक्लै भेटवार्ता पनि भएको थियो । तर, त्यसमा कुनै ठोस सहमति भने भएन ।

त्यसपछि ओलीको सन्देश बोक्दै उनी निकट नेताहरुले अर्का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । स्थायी कमिटी बैठक बस्नु अगाडि शनिबार ओली पक्षधर स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

ओलीको ‘सन्देश’ बोकेर प्रचण्ड भेट्न पुगेका नेता पोखरेलले पार्टीलाई फुटबाट जोगाउन दुवै अध्यक्ष मिल्नुपर्ने विकल्पबारे सुझाएका थिए ।

यस्तै, आइतबार बिहान ओली पक्षका अर्का नेता एवम् नेकपा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले पनि प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

नेम्वाङले प्रचण्डलाई भेटेर पार्टी एकता जोगाउन अर्का अध्यक्ष ओली अत्यन्तै चिन्तित रहेको सुनाएका थिए ।

भेटवार्ता पछि प्रतिक्रिया दिँदै नेम्वाङले प्रचण्ड पनि एकताप्रति चिन्तित र सकरात्मक भएको बताएका छन् ।
एक हप्तापछि आज दिउँसो १ बजेतिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको स्थायी कमिटी बैठक नियमित एजेण्डामै प्रवेश नगरी स्थगित हुने सम्भावना छ ।

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको सन्भर्दमा शोक प्रस्ताव पारित गरेर स्थगित हुने सम्भावना रहेको नेकपाका एकजना स्थायी कमिटी सदस्यले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button