कांग्रेस सभापति देउवा बैठकमा नगएपछि संवैधानिक परिषदको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आइतबारका लागि तय गरिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।
संवैधानिक आयोग तथा निकायहरुमा रिक्त पद पूर्तिका लागि छलफल गर्न भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहानका लागि संवैधानिक परिषदको बैठक बोलाएका थिए ।
परिषदको बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीच ३ दिन अगाडि छलफल समेत भएको थियो ।
सरकारविरुद्ध प्रदर्शन गर्न लागेको अघिल्लो दिन बस्ने परिषदको बैठकमा सहभागी हुन ‘नराम्रो सन्देश’ जाने भन्दै देउवा आइतबारका लागि तय भएको बैठकमा सहभागी नभएका कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
नेपाली कांग्रेसले सोमबार (मंसिर २९ गते) देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै छ ।