गुणस्तरीय कानुन निर्माण गरिनुपर्नेमा सभामुख सापकोटाको जोड

२८ मंसिर, काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण हुन नसके सुशासन र सम्वृद्धिका कुरा निरर्थक प्रवचन सावित हुने बताउनु भएको छ ।

१४ औं संघीय संसद सेवा दिवस २०७७ का अवसरमा आज संसद भवन नयाँबानेश्वरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले नेतृत्वको स्पिरिट र कर्मचारीको दक्षता मिलाएर मात्रै गुणस्तरीय कानुन निर्माण सम्भव हुने बताउनु भयो ।

‘गुणस्तरीय कानुन बनेन भने त्यहिँबाट बिडम्बना सुरु हुन्छ, त्यहिँबाट विग्रन सुरु हुन्छ’ सभामुख सापकोटाले भन्नुभयो ।

उहाँले गुणस्तरीय कानुन निर्माण सँगसँगै संसदीय निगरानी मार्फत निर्मित कानुन कार्यान्वयनको अवस्थाबारे पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

सभामुख सापकोटाले आगामी पुस १८ भित्र संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने संबैधानिक बाध्यता रहेको बताउँदै सदन सुचारु हुँदै गर्दा संघीय संसदको सुधारका योजनाहरु सार्वजनिक गरिने जानकारी दिनु भयो ।

संसदलाई जीवन्त र जनमुखी बनाउने संकल्पसहित आम जनताकाबीचमा सुधारका योजना सार्वजनिक गर्ने र जनतालाई संघीय संसदको नेतृत्वले केही बल, प्रयत्न गरेको छ भनेर सन्देश दिने उहाँको भनाई छ ।

सभामुख सापकोटाले अलिकति प्रयत्न गरिए नेपाली जनताले साथ दिने र जनताको साथ पाए जस्तोसुकै असम्भव भनिएका कुरा पनि सम्भव बनाउन सकिने धारणा राख्नु भयो ।

उहाँले संघीय संसद सेवामा कार्यरत कर्मचारीहरुमा आकार्षण बढाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दै यसका लागि कर्मचारीको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।

समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन न्याय तथा संसदीय मामीला मन्त्री शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाल, संसद सचिवालयको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मेघराज अर्याल लगायतले धारणा राख्नु भएको थियो ।

दिवसका अवसरमा संसदले हरेक बर्ष प्रदान गर्ने सर्वोत्कृष्ट सेवा पुरस्कार उपसचिव कमला शाक्य, उत्कृष्ट सेवा पुरस्कार कम्प्युटर अधिकृत जगदिश न्यौपाने, सवारी चालकबाट कृष्ण रानामगर र संसद सेवा पुरस्कारबाट बालकृष्ण न्यौपाने सम्मानीत भएका छन् ।

यसैगरी संसद सेवामा ३० बर्ष भन्दा धेरै सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।

संघीय संसद सचिवालयले साताव्यापी कार्यक्रम गरेर संसद सेवा दिवस मनाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button