स्थायी कमिटी बैठक नडाक्ने मनसायमा ओली

काठमाडौं । सरकारले दुवै अध्यादेश खारेज गरे पनि त्यसको तरङ्ग साम्य भइसकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूले स्थायी कमिटीको माग गरेर पत्र बुझाएका छन् ।

त्यसरी पत्र बुझाएको पन्ध्र दिनभित्र अनिवार्य बैठक बोलाउनुपर्ने विधानमा प्रावधान छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक फेस गर्न रुचि नदेखाएको प्रचण्ड निकट स्रोतले जानकारी दियो ।

अध्यादेश फिर्तालगत्तै राजनीतिक सन्देश दिन प्रधानमन्त्रीले विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई निवासमा बोलाएका थिए । प्रमुख प्रतिपक्षी दलका नेतासँगको गफगाफ नसकिँदै पार्टीका अध्यक्ष प्रचण्डलाई पनि बालुवाटार बोलाएर पार्टीभित्रको संवादहीनता अन्त्य भएको सन्देश दिने प्रयत्न गरेका थिए ।

प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीले स्थायी कमिटी बैठक बोलाउन रुचि नदेखाएको स्रोतले जानकारी दिए । “उहाँले अहिले नै नबोलाउँ, सबैको मनोभावना बुझेर अध्यादेश फिर्ता भइसकेकाले यसबारे अतिरिक्त छलफल आवश्यक नरहेको उहाँको मनशाय छ,” स्रोतले भन्यो ।

स्थायी कमिटी सदस्यले भने अध्यादेश फिर्ता मात्रै समस्याको समाधान नभएको भन्दै पार्टी कमिटीको बैठकको माग गरेका छन् ।

“अध्यादेश मात्रै होइन प्रधानमन्त्रीका त्रुटिको शृङ्खला नै तयार भइसकेको छ । त्यसको वृहत्तर छलफल गरेर एउटा निष्कर्षमा नपुगे सरकार थप बदनाम हुन्छ । त्यसको मूल्य पार्टी, आन्दोलनले चुकाउनुपर्ने हुन्छ । बैठक बसेर गल्ती, त्रुटि सच्याउनुपर्छ,” बैठकको माग गर्ने समूहमध्येका एक नेताले भने ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको टुङ्गो नलागेको बताए । “अध्यादेश फिर्ता भएपछि पनि सन्दर्भ बाँकी नै छ । बैठक बसेर वृहत्तर छलफल गर्नुपर्छ । पार्टी र सरकारको कामको समग्र मूल्याङ्कन गर्नुपर्छ । अध्यादेश फिर्ता भइहाल्यो, यो विषय सकियो भन्नेजस्तो गर्नुहुँदैन,” पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने ।

स्थायी कमिटी बैठक नडाकिए पार्टीभित्र थप असन्तुष्टि पैदा हुने खनालले बताए । “स्थायी कमिटी बोलाउनुको विकल्प छैन । बैठक बोलाउन माग भइसकेको छ । उहाँको ध्यान त्यतातिर किन गइरहेको छैन, मैले बुझ्न सकेको छैन,” उनले भने ।

बैठक छल्दै गए राजीनामा मागिन्छ

अध्यादेश जारी हुनेबित्तिकै नेकपाका २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै ओली–प्रचण्डलाई पत्र बुझाएका थिए । पत्र बुझाउनेमा प्रचण्ड, नेपाल पक्षका नेताहरू छन् । स्थायी कमिटी सदस्यहरूले अहिले नै प्रधानमन्त्रीको राजीनामा मागिसकेका छैनन् । बैठक र छलफलविहीनताको अन्त्यको माग मात्रै गरेका छन् । तर, प्रधानमन्त्रीले बैठक छल्दै, टार्दै परिस्थिति त्यहाँ पनि पुग्न सक्ने एक नेता बताउँछन् ।

“पार्टीभित्र अहिले नै हामीले ओलीको विकल्प सोचिसकेका छैनौं । पार्टी, सरकार विधि, पद्धतिसङ्गत ढङ्ले सञ्चालन गर्नुपर्छ । निर्णयपूर्व छलफल गर्ने छलफल पनि ठूलो दायरामा गर्नुपर्छ भन्ने नै हाम्रो माग हो,” उनको भनाइ छ । “बैठक नै नबोलाउने, छलफल नै नगर्ने, नेतृत्व आफैंमा केन्द्रितकृत गर्ने, बैठक बसे पनि निर्णय कार्यान्वयनमा उदासिनता प्रकट गर्ने हो भने कमिटीसँग प्रधानमन्त्रीको विकल्प सोच्नेबाहेक अन्यथा के विकल्प हुनसक्छ ?,” अर्का स्थायी कमिटी सदस्य प्रश्न गर्छन् ।

परिस्थिति अहिले नै बिग्रिइनसकेकाले प्रधानमन्त्रीले त्रुटि सच्याउने दिशातिर जानुपर्ने उनको भनाइ छ । “सत्ता सम्हालेदेखि त्रुटिको शृङ्खला नै तयार भएको छ । अझ थपिँदै जाने हो भने त्यसले पार्टी, आन्दोलनलाई अपूरणीय क्षति पुर्‍याउँछ । कमिटी यसमा सचेत हुनै पर्‍यो नि ! पर्खने अवस्था छैन,” स्थायी कमिटी सदस्य भन्छन् ।

यसपटक स्थायी कमिटीको बैठक बोलाउन आलटाल गरे ओलीले अप्रिय निर्णयको सामना गर्नुपर्ने परिस्थिति पैदा हुने ती सदस्यको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button