सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उखु किसानको भुक्तानी दिन तयार भयो श्रीराम सुगर मिल्स

काठमाडौं । सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रौतहटको मह्मदपुर गुरुडामा रहेको श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएको छ ।
मिल्सले एक सूचना जारी गर्दै शुक्रबार (आज)देखि नै किसानहरुको बक्यौता रकम भुक्तानी गर्ने जनाएको हो ।
उखु किसानलाई भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि बैंक खातामा रकम जम्मा भइरहेको उद्योगले दाबी गरेको छ । भुक्तानीका लागि कारखानास्थलमा सूचना टाँस गरिएको उद्योगले जानकारी दिएको छ ।
उद्योगले विज्ञप्तीमार्फत उखु किसानलाई भुक्तानी गर्न विलम्व हुँदा पर्न गएको पीर मर्का तथा दुःखप्रति क्षमायाचना गरेको छ ।
उखु उत्पादक संघसहित किसानहरुले बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दायर गरेपछि मिल्सका सञ्चालकसहितविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
४६ जना किसानले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराएपछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतका अनुसार श्रीराम सुगर मिल्सका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र कार्यकारी उपाध्यक्ष पद्मकान्त झाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।
उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवका अनुसार श्रीराम सुगर मिल्सले आर्थिक वर्ष २०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख र ०७६/७७ को ५० लाख रुपैयाँ गरी उखु किसानलाई ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
किसानलाई करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी रहेको अवस्थामा सञ्चालकहरुले गत साउन २१ गते एक सूचना टाँस गरेर मिल्स सधैंका लागि बन्द भएको बताएका थिए । त्यसयता मिल्सका सञ्चालकहरु किसानको सम्पर्कमा आएका थिएनन् ।
श्रीराम सुगर मिल्सले भने गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार ५ सय २५ रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकी रहेको दाबी गरेको छ ।