प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीसँग छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसहित नेताहरुले कानून व्यवसायीहरुसँग छलफल गरेका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्डले कानून व्यवसायीसँग छलफल गरेका हुन् ।
सोमबार सिंहदरबारमा गरिएको छलफलमा नेकपाका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य जनार्दन शर्मा लगायत सहभागी छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा आइतबार नै राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गरेर वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति तोकेकी थिइन् ।
प्रचण्डसहित नेकपाको ओली इतर पक्षले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र पश्चगामी कदम भनेको छ ।
संसद विघटनको घोषणा भएपछि आइतबार बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
ओलीले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू पक्षीय सांसद र नेताहरुको भेला बोलाएका थिए । भेलामा उनले प्रचण्डको नृतृत्वमा बसेको बैठकले गरेको निर्णय मान्ने नहुने बताएका थिए ।