नारायणकाजीको नेतृत्वमा प्रचण्ड–माधव समूहले बनायो आन्दोलन परिचालन समिति
प्रचण्ड–नेपाल समूह शुक्रबार सर्वोच्च र निर्वाचन आयोग जाने

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनका लागि समिति बनाएको छ ।
बिहीबार कार्की पार्टी प्यालेसमा बसेको बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय १ जनाको आन्दोलन परिचालन समिति गठन गरेको छ ।
आन्दोलनको कमाण्डका लागि सानो सचिवालयसमेत बनाइने बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएको छ ।
आफ्नो बहुमत सिद्ध गर्नका लागि शुक्रबार १० बजेतिर केन्द्रीय सदस्य र सांसदहरु सर्वोच्च अदालत जाने जनाइएको छ । यस्तै, दिउँसो १२ बजेतिर प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जाने छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णयविरुद्ध संघर्ष जाने पनि प्रचण्ड–नेपाल समूहले तयारी थालेको छ ।