आज विश्वभर हर्षोल्लासका साथ ‘ख्रीष्टमस डे’ मनाइँदै

काठमाडौं । ख्रीष्टमस धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवको रुपमा आज नेपालसहित विश्वभर क्रिसमस मनाइँदै छ ।
येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ ख्रीष्टमस पर्व मनाइने गरिन्छ ।
आजभन्दा २ हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रुसमा चढेको विश्वास गरिन्छ ।
येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
नेपालमा पनि ख्रीष्टमसको उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । ‘ख्रीष्टमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ ।