पर्यटनमन्त्रीलाई सांसदको सुझाव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विकासका लागि समेटिनुपर्ने विषयमा सांसदहरुसँग सुझाव लिएका छन् ।
पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आव २०७७-७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा आज प्रदेशगतरुपमा सङ्घीय सांसदहरुसँग सुझाव लिएका हुन् ।
मन्त्रालयमा भएको छलफलको पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका सांसदसँग र दोस्रो चरणमा प्रदेश नं १ का सांसदसँग सुझाव लिएका थिए ।
शुक्रबार चरण चरणमा प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नेकपाका सांसदहरुसँग सुझाव लिने मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ । त्यस्तै, प्रतिपक्षी दलका सांसदहरुसँग पनि क्रमबद्धरुपमा सुझाव माग्ने बताइएको छ ।
आजको छलफलमा सांसदहरुले बजेट विनियोजन गर्दा पहुँचका आधारमा मात्र वितरण गर्ने विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा गर्नुपर्नेमा विशेष जोड दिएका थिए ।
विगतमा सय गन्तव्य छनोट गर्दा हचुवाको भरमा गरिएको र अहिले धेरैजसो ती गन्तव्यका कार्यक्रम कुन अवस्थामा रहेका भन्ने आफूहरुलाई कुनै जानकारी नभएको अधिकांश सांसदको भनाइ थियो ।
सय गन्तव्यका कार्यक्रमको जिम्मा प्रदेश वा स्थानीय तहलाई नदिइ संघीय सरकार आफैले लिएर त्यसको प्रभावकारी अनुगमन गर्नुपर्ने सांसदहरुको धारणा थियो । सांसदहरुले प्रादेशिक सदरमुकामका विमानस्थललाई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिएका थिए ।
कर्णाली प्रदेशका सांसदहरुको जोड सुर्खेतमा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा थियो भने सुदूरपश्चिमका सांसदहरुले धनगढी विमानस्थललाई क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै, प्रदेश नं १ का सांसदहरुले विराटनगर विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पर्यटनमन्त्री भट्टराइले सांसदहरुको माग बमोजिम सकेसम्म प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा ‘लगानीमा साझेदारी र प्रतिफलमा हिस्सेदारी’को नीतिअनुसार ठूला पर्यटकीय आयोजना अघि बढाउने मन्त्रालयको सोच रहेको बताए । – रासस