शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच २ घण्टा छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार बेलुकी भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली सोमबार बेलुकी राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब २ घण्टा छलफल भएको जनाइएको छ ।
राष्ट्रपतिसँगको भेटवार्ताका लागि सोमबार बेलुकी ७ बजेर ५ मिनेटतिर शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले भेटवार्ता सकेर ९ बजेपछि मात्रै त्यहाँबाट निस्किएका थिए ।
राष्ट्रपतिसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक परिस्थिति र सरकारका कामकारबाहीबारे जानकारी गराएका उनको सचिवालयका एक सदस्यले जानकारी दिए ।
ओली र भण्डारीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छिमेकी राष्ट्र चीनबाट बढेको चासोका विषयमा पनि कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा गत आइतबार (पुस ५ गते) राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि देशमा राजनीतिक गतिरोध बढेको छ ।
बढ्दो राजनीतिक गतिरोधप्रति चासो राख्न उत्तरी छिमेकी चीनसहित दक्षिणी छिमेकी मुलुक भारतबाट समेत चासो बढ्न थालेको छ ।
संसद विघटनपछिको राजनीतिक घटनाक्रमबारे ‘जानकारी लिन’ चिनियाँ प्रतिनिधि मण्डल आइतबार नेपाल भ्रमणमा आएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वको टोलीले आइतबार नै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको थियो ।
त्यसपछि सोमबार चिनियाँ टोलीले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायतसँग भेटवार्ता गरेको छ ।