नेकपा पार्टी मात्र होइन, मुटु पनि चिरिएको छ : नेकपा नेता शर्मा

काठमाडौं । राष्ट्रिय सभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टी विभाजनको संघारमा पुगेपछि आफ्नो मुटु चिरिएको बताएका छन् ।
राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शुक्रबार शर्माले पार्टी बैचारिक कारणले भन्दा पनि राजनीतिक कारणले विभाजन भएको प्रष्ट पारेका हुन् ।
‘पार्टी विभाजन त भएको छैन तर विभाजनको संघारमा आइपुगेको छ, यसले मुटु चिरिएको र फुटेको अनुभूति भएको छ’,उनले भने,’विगतको विभाजनमा मैले यति धेरै पीडा महसुस गरेको थिइनँ ।’
प्रतिनिधि सभा नभएको सन्दर्भमा राष्ट्रिय सभाले सरकारलाई खबरदारी गर्नेसमेत शर्माले बताए । ‘प्रतिनिधि सभा नभएको सन्दर्भमा सरकारलाई सघाउने काम गर्छ, सरकारलाई खबरदारी गर्ने काम पनि गर्छ, अहिले जनचासोका विषयहरू प्रस्तुत गर्ने थलो नै यही बनेको छ’, उनले भने ।
किशानको आन्दोलनका क्रममा मृत्यु भएका उखु किसानप्रतिसमेत शर्माले श्रद्धान्जली व्यक्त गरे ।