ललितपुर नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम

ललितपुर /  ललितपुर महानगरपालिकाले आफ्ना नगरप्रहरीलाई ट्राफिक व्यवस्थापनसम्बन्धी ज्ञान दिन तालिम दिएको छ ।
नगरको सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सघाउन महानगरपालिकाले आफ्ना नगरप्रहरीलाई तालिम दिएको हो । एक साता ‘इनडोर’ र एक साता ‘आउटडोर’ गरी दिइने उक्त तालिम १५ दिनको हुने महानगरपालिकाले जनाएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगरभित्र बढेको सवारी चाप र दुर्घटनालाई न्यूनीकरण गर्न नगरप्रहरीलाई तालिम दिन सुरु गरेको बताए । ट्राफिक नियमका बारेमा जानकार नगरप्रहरी ड्याटीमा खटिदाँ ट्राफिक प्रहरीलाई सहयोग पुग्ने उनले दाबी गरे ।
‘महानगरले गर्ने महत्वपूर्ण काममध्ये ट्राफिक व्यवस्थापन र सवारी पार्किङ पनि एक हो’ प्रमुख महर्जनले भने, ‘पछिल्लो समय नगरमा बढेको सवारीसाधनको संख्याको तुलनामा ट्राफिक प्रहरीको संख्या कम देखिन्छ, त्यसैले उहाँहरुलाई सघाउन तालिम दिएका हौं ।’
महानगरले महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराई छलफल गरी २ जना ट्राफिक प्रहरी प्रशिक्षक मार्फत तालिमको व्यवस्था मिलाएको हो । महानगरका नगरप्रहरी प्रमुख सिताराम हाँछेथुले ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम पाएपछि सडकमा देखिने सवारी व्यवस्थापनसम्बन्धी समस्या धेरै हल हुने बताए ।
तालिमको मुख्य उद्देश्य ट्राफिक प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने बताउँदै भने, ‘उहाँलाई सहयोग गर्नु नगरप्रहरीलाई तालिम दिनुको मुख्य उद्देश्य हो । ’महानगरको टोल र गल्लीमा पुगेर त्यहाँको ट्राफिक व्यवस्थापन गर्न तालिमप्राप्त नगरप्रहरी सक्षम हुने उनको धारणा थियो ।
नगरप्रहरी प्रमुख हाँछेथुले महानगरभित्र कुनै पनि स्थानमा भएको सवारी जाम हटाउन ट्राफिक प्रहरीसँगै नगरप्रहरी पनि तयार हुने दाबी गरे । उनले भने, ‘अब ट्राफिक जाम भयो भने ट्राफिक प्रहरीसँगसँगै नगरप्रहरीलाई पनि कल गर्नुभयो भने हामी ट्राफिक व्यवस्थापनको लागि तुरुन्तै पुग्छौं ।’
महानगरवासीलाई परेको अप्ठ्यारो र समस्या फुकाउन नगरप्रहरी हरदम तयार रहेको बताए ।
ललितपुर महानगरका नगरप्रहरीले पछिल्लो समय साइकल गस्ती मार्फत सहरलाई व्यवस्थित गर्ने काम गरिरहेका छन् । त्यसैगरी फुटपाथ अतिक्रमणलाई रोक्नुको साथै, जथाभावी टाँगिएका तारलाई व्यवस्थित गर्न काम थालेका छन् । साथै नगरप्रहरीले जथाभावी टागिँएका होडिङ बोर्ड पनि हटाएका छन् ।
महानगरभित्र गर्नुपर्ने काम धेरै भएको बताउँदै प्राथमिकताको आधारमा काम गरिरहेको हाँछेथुले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button