हुम्ला जिल्लामा भारी हिमपात

काठमाडौं । पश्चिमी वायुको प्रभावले पछिल्लो समय देशभरकै मौसम बदली भएको छ । यसबीच कर्णाली प्रदेशको हुम्ला जिल्लामा भारी हिमपात भएको छ ।
आइतबार साँझदेखि भएको हिमपातका कारण विमान सेवा समेत अवरुद्ध भएको छ । हुम्लाको सिमकोट विमानस्थलमा हिउँ जमेको छ ।
विमानस्थलमा हिउँ जमेपछि उडान रोकिँदा सिमकोटबाट नेपालगञ्ज, सुर्खेत र काठमाडौं लगायत ठाउँमा जाने यात्रुहरु हुम्लामै रोकिएका छन् ।
हिमपातका कारण तारा एयरका २ वटा जहाज सिमकोट विमानस्थलमै थन्किएका छन् । सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीका अनुसार एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे जहाजमा प्राविधिक टोली आएको थियो ।
मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख अधिकारीले जानकारी दिए । हुम्ला सदरमुकामसहित उत्तरी क्षेत्रमा समेत भारी हिमपात भएको जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ ।
देशका धेरैजसो स्थानमा बुधबारसम्म बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए । ‘ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको छ,’ मौसमविद् श्रेष्ठले भने ।
पश्चिमी वायु प्रणाली बुधबारदेखि कमजोर हुँदै जाने बताइएको छ । काठमाडौंमा सोमबार बिहान हल्का वर्षा भएको थियो । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात पनि भएको छ । हाल देशभर सामान्य बदली रहेको छ ।
दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, वाग्मती र प्रदेश नं १ को भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।