नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले मन्त्रीहरुलाई कालो झण्डा देखाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्मका लागि दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । पहिलो दिन आज (पुस २१ गते) सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गरिने छ ।
यसैगरी पुस २२ गते काठमाडौं उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन वा सिटी वा लाठी जुलुस निकाल्ने अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
पुस २३ गते देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिने कार्यक्रम तय गरिएको छ ।
पुस २५ गते संसद विघटनको कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने, २६ गते बयलगाडा प्रदर्शन गर्ने र २७ गते प्रतिगमनको विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी पौष २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ) गरी २९ गते सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन गरिने छ ।
तेस्रो चरणको आन्दोलनका कार्यक्रम भने माघ १ गते सार्वजनिक गरिने अनेरास्ववियूले जनाएको छ ।