‘सीमा समस्या समाधान गरौं’

काठमाडौं । राष्ट्रियसभाको विशेष समयमा बोल्ने सांसदहरूले सीमा समस्या समाधान र कोरोना महामारीपछि आउने अवस्थाको सामना गर्न सरकार तयार हुनुपर्ने बताएका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरूले भारतले मिचेको नेपाली भूमि फिर्ताका वार्ताको प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेका छन् । सांसद रमेशजंग रायमाझीले राष्ट्रियता र लोकतन्त्र अपहरणमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकार गम्भीर नभएको आरोप लगाए ।

रोटी र बेटी सम्बन्ध भएको बताउने छिमेकी भारतले नेपालको राष्ट्रियता अपहरण गरेको उनको भनाइ छ । भारतसँगको सीमा समस्या समाधानका लागि सम्पूर्ण राजनीतिक दलहरूले साथ दिँदा पनि सरकारले वार्ताको पहलसमेत गर्न नसकेको उनले बताए । रायमाझीले प्रधानमन्त्रीको कार्यशैलीले लोकतन्त्र अपहरणमा परेको बताए ।

सांसद भैरवसुन्दर श्रेष्ठले सुगौली सन्धिविपरीत भारतले नेपालको सीमाना अतिक्रण गरिरहेको बताए । परराष्ट्रमन्त्री र प्रधानमन्त्रीस्तरमा समस्या समाधानका लागि वार्ता गर्न पनि उनले सरकारलाई सुझाव दिए । प्रधानमन्त्रीस्तरको वार्ताबाट पनि समस्या समाधन नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने उनको भनाइ छ । नेपाल भारत प्रबुद्ध समूहले बनाएको प्रतिवेदन सदन पेस गर्न माग गर्दै उनले एक आर्थिक वर्षको बजेट सीमानामा पर्खाल लगाउनका लागि छुट्याउन पनि आग्रह गरे ।

सांसद मायाप्रसाद शर्माले कोरोना भाइरस र छिमेकी देशको भाइरसले नेपालमाथि आक्रमण गरिरहेको बताए । विश्व कोरोनासँग लडिरहेका बेला भारतले कोरोनाका रूपमा नेपालमाथि आक्रमण गरिरहेको उनले बताए । कोरोना नियन्त्रणका लागि देशभरि औषधि, दक्ष जनशक्तिलगायत अन्य स्वास्थ्य उपकरणको व्यवस्था गर्नतर्फ सरकारको ध्यानाकर्षण गराए ।

‘प्रधानमन्त्रीज्यू, जन्मदिनमा शुभकामना दिन भ्याउने, भूमि मिचिएकोबारे कुरा गर्न नभ्याउने ?’
सांसद शेखरकुमार सिंहले नेपाल–भारत सीमा समस्या वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरे । भारतबाट नेपाल भित्रिएका नागरिकमा कोरोना संक्रमण देखिएको उल्लेख गर्दै उनले सरकारले यसको व्यवस्थापनका लागि ध्यान दिनुपर्ने बताए ।

सांसद खिमलाल देवकोटाले कोरोना संक्रमणबाट देशलाई जोगाउन भएका सरकारी प्रयासहरू सार्थक भएको उल्लेख गरे । विभिन्न अस्पतालमा आइसोलेसन वार्ड आईसीयूको व्यवस्था हुनु, रहेका पालिकामा क्वारेन्टाइन निर्माण गरिनु, देशव्यापी लकडाउन गरी राहतको व्यवस्थापन गर्नु सरकारका सकारात्मक प्रयास भएको उनले बताए ।

‘नेपाल–भारत सीमामा काँडेतार लगाऔं’
सरकारले गरेका राम्रा कामहरूलाई पनि गरे भनेर जनतामा भ्रम छर्ने काम भएको उनले बताए । “राज्यका सम्बन्धित निकायहरूले छानबिन गरिरहेका वाइडबडी वा स्वास्थ्य सामग्री खरिदजस्ता विषय उछालेर सरकारको भ्रष्टाचारविरुद्धको संकल्प र महाअभियानमाथि भ्रम छर्ने प्रयास भएको छ,” उनले भने ।

भारत लगायत विभिन्न मुलुकबाट नागरिकहरू स्वदेश फर्केपछि बेरोजगारी समस्या उत्पन्न हुने उल्लेख गर्दै उनले यसको व्यवस्थापनतर्फ सरकारको ध्यान जानुपर्ने बताए । खुला नाकाबाट लुकेर नेपाल प्रवेश गरिरहेको अवस्थाले भोलि भयावह स्थिति आउने भन्दै सीमा क्षेत्रमा अलपत्र नागरिकको उचित व्यवस्थापन गर्न देवकोटाले आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button