ललितपुर महानगरद्वारा ५० लाख कार्तिक नाच अक्षयकोषका लागि प्रदान

ललितपुर / ललितपुर महानगरपालिकाले ललितपुरको तीन सय ७९ वर्ष पुरानो प्रसिद्ध कात्र्तिक नाचको अक्षयकोष स्थापनाका लागि पचास लाख दिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई एक समारोहबीच चेक हस्तान्तरण गरे ।
चेक हस्तान्तरण अघि नगरप्रमुख महर्जन र समितिका अध्यक्ष चित्रकारले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यो नाच मल्लराजा सिद्धिनरसिंह मल्ल शुरु गरेका हुन् । कार्तिक नाच कार्तिक महिनामा देखाइन्छ ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले अक्षकोषको लागि रकम दिन पाउँदा निकै खुशी लागेको बताए । उनले भने,‘ अघिल्लो वर्ष मैले यही डबलीबाट यो नाचको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने वचन दिएको थिएँ , आज त्यो पुरा भएको छ , त्यसैले म खुशी छु ।’
ललितपुर महानगरपालिकाले मूर्तसँगसँगै अमूर्तसम्पदाको संरक्षण गर्न धेरै काम गरेको बताए । नाच, जात्र अमूर्त सम्पदा अन्तर्गत पर्छन् । उनले मूर्त र अमूर्तसम्पदा महानगरको पहिचान भएको बताए ।
पाटन दरबारक्षेत्रमा रहेको नरसिंह मन्दिरको निर्माण पनि महानगरले छिटटै थाल्ने उनको भनाई थियो । व्यापारीहरुको आराध्यदेव भीमसेन मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । देगु तलेजुको पनि पुनर्निर्माणको काम सुरु भएको जानकारी दिए ।
ललितपुर महानगरपालिका वडा नं १६का वडा अध्यक्ष निर्मलरत्न शाक्यले महानगरभित्रका सम्पदा र संस्कृति नेपालकै चिनारी भएको बताए । ललितपुर महानगरपालिका वडा नं १६ले यस अघि नै कात्र्तिक नाचका लागि वडास्तरीय बजेटबाट १० लाख दिइसकेको छ ।
कार्यक्रममा नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले महानगरपालिकालाई धन्यवाद दिदैं अक्षकोषको रकम पाँच वर्षभित्र १० करोड पु-याउने बताए । अक्षयकोष स्थापना भएपछि प्रत्येक वर्ष नाच संचालनका खर्च जोहो गर्दै हिड्नु नपर्ने धारणा राखे ।
कार्यक्रममा पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले मूर्त र अमूर्त सम्पदा,कला संस्कृति मार्फत पर्यटकलाई आकर्षित गर्न सकिने बताए । उनले यस कार्यका लागि वोर्ड सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको धारणा राखे ।
पाटन संग्रहालयका प्रमुख सरस्वती सिंहले ललितपुरको कला, संस्कृति र सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित बनाएको बताइन् ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो ।