ओलीको अन्तर्वार्ता लिन आएका भारतीय पत्रकारको प्रश्न– नेपालले भारतलाई ठूल्दाइ मान्न छाडेकै हो ?

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय मिडियालाई अन्तर्वार्ता दिएका छन् ।

प्रधानमन्त्रीको अन्तर्वार्ता लिन जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीसहितको टोली अहिले काठमाडौंमा छ ।

प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर चौधरीले अन्तर्वार्ता लिएका छन् । प्रधानमन्त्रीसँगको तस्वीर उनले सामाजिक सञ्जालमा राखेका छन् ।

‘छिमेकी नीतिलाई लिएर अहिले नेपाली प्रधानमन्त्रीको दिमागमा के चलिरहेको छ ? भनेर जान्नु महत्वपूर्ण हुनेछ’ सुधीरले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाल किन भारतसँग ठूल्दाइको जस्तो व्यवहार गर्न चाहँदैन भन्ने विषयमा निकै महत्वपूर्ण कुराकानी भयो ।’

कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालले चुच्चे नक्सा सार्वजनिक गरेपछि भारतीय संस्थापन निकटको जी न्यूज नेपाली प्रधानमन्त्रीविरुद्ध खनिएको थियो ।

सोही क्रममा चुच्चे नक्साको पक्षमा अभिव्यक्ति दिएकी अभिनेत्री मनिषा कोइरालाका विषयमा चौधरीले विवादास्पद ट्वीट गरेका थिए । उनले नेपाल चीनसँग नजिकिएको आरोप लगाउँदै चौधरीले लेखेका थिए । तर, व्यापक विरोधपछि चौधरीले माफी माग्दै ट्वीट हटाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button