काठमाडौं महानगरले कर छुटको सुविधा थप ३ महिनासम्म बढायो

काठमाडौं । काठमाडौं महानगर नगर सभाको आठौं अधिवेशन सुरु भएको छ । सोमबारबाट सुरु अधिवेशनमा तीन ओटा विधेयक पेस भएका छन ।

बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक– २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक– २०७७’ पेश भएका हुन् ।

ती विधेयकहरु विभागीय प्रमुखहरु क्रमशः हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले प्रस्तुत गर्नुभएको थियो । यी विधेयकहरु आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेश हुने महानगरपालिकाले जानकारी दिएको छ ।

पुस २४ गते बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले आजको सभामा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सुरु बैठकमा चालु आर्थिक बर्षको ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव गरिएको छ ।

यसरी प्रस्ताव गरिएका कार्यक्रमहरुमा निशुःक वितरणका लागि औषधि खरिद, सार्वजनिक सम्पत्तिको मर्मत तथा संरक्षण, स्वास्थ्य उपकरण खरिद, मठमन्दिर, गुठीघर, देवता घरजस्ता सांस्कृतिक संरचनाको पुननिर्माण, मर्मत सम्भार तथा सौन्दर्य बढाउने, सडक स्तरोन्नति गर्ने, ढल तथा मंगाल निर्माण गर्ने काम रहेका छन् । त्यस्तै सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य, यातायात तथा सुरक्षा व्यवस्थापन नगर साझेदारी कार्यक्रमलगायत छन् ।

सातौ नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये केही कार्यक्रमको शीर्षक मिलाउनृ पर्ने, केहीको स्रोत सुनिश्चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नुभएको भएकोले बजेट संशोधन प्रस्ताव गरिएको हो ।

‘विभिन्न वडाबाट पूर्वाधार निर्माणका धेरै माग आइरहेका छन्,’ सभाका अध्यक्ष एवं प्रमुख शाक्यले भन्नुभयो, ‘ती मागलाई लागतमा रुपान्तरण गरेर हेर्दा अरबौंको बजेट आउन सक्छ । यसरी माग भएका योजनालाई आगामी बर्षको कार्यक्रममा समेट्ने छौं । अहिले भने स्वीकृत नीति र कार्यक्रम तथा कानुनले दिएको अधिकार प्रयोग गरेर केही शीर्षकहरुमा बजेट संशोधन प्रस्ताव गरिएको हो ।’

सभामा उपाध्यक्ष एवं उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतसहित नगर सभा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

उपप्रमुख श्रेष्ठले जनप्रतिनिधिको बाँकी कार्यकाललाई अधिकतम् जनताका चाहना पूरा गर्ने योजनामा केन्द्रित गर्न सबै जनप्रतिनिधिले साझा मत निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

सभाले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिएको छुटलाई चैत्र मसान्तसम्म दिने निर्णय गरेको छ । कोविड १९ को महामारी नसकिएकोले महानगरबासीलाई दिइएको कर छुटको सुविधा थप ३ महिनासम्म बढाइएको हो ।

कोभिडको महामारीसँगै काठमाडौँ महानगरपालिकाले होटल व्यवसायलाई अधिकतम ८५ प्रतिशतसम्म र सम्पत्ति कर बुझाउनु पर्ने करदातालाई १० प्रतिसतसम्म छुट सुविधा दिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button